काठमाडौँ– भारत सरकारले आज नेपालका विभिन्न जिल्लामा फैलिएका विभिन्न स्वास्थ्य संस्थाहरुलाई ४० वटा एम्बुलेन्स उपहारस्वरुप प्रदान गरेको छ ।
सवारी साधन हस्तान्तरण समारोह काठमाडौंस्थित भारतीय राजदूतावास, वीरगंजस्थित भारतको महावाणिज्य दूतावास र पोखरा र धरानस्थित भारतीय दूतावासको पेन्सन भुक्तानी कार्यालयहरु सहित चार स्थानमा एकैसाथ आयोजना गरेर एम्बुलेन्स हस्तान्तरण गरेको हो ।
आज नेपालका ७ वटै प्रदेशका ३३ वटा जिल्लालाई समेट्दै कुल ४० वटा एम्बुलेन्स उपहारस्वरुप प्रदान गरिएको थियो । यी मध्ये २२ वटा एम्बुलेन्स काठमाडौंमा हस्तान्तरण गरिएको थियो । साथै, भारत सरकारका प्रतिनिधिहरुद्वारा वीरगंजमा ७ वटा, पोखरामा ७ वटा र धरानमा ४ वटा एम्बुलेन्स हस्तान्तरण गरिएको थियो ।
काठमाडौंमा आयोजित समारोहमा भारतीय राजदूतावास, काठमाडौंका नियोग उप–प्रमुख श्री प्रसन्न श्रीवास्तवले सवारी साधनहरुको चाबी हस्तान्तरण गर्नुभयो । कार्यक्रममा बागमती, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका नगरपालिका र गाउँपालिकाका मेयर र अध्यक्षहरुका साथै विभिन्न लाभार्थी संस्थाका प्रतिनिधिहरु, राजनीतिक प्रतिनिधिहरु र समाजसेवीहरु पनि उपस्थित थिए ।
कार्यक्रममा नियोग उप–प्रमुखले स्वास्थ्य क्षेत्रमा पूर्वाधार सुदृढीकरण गर्ने नेपाल सरकारको प्रयासलाई मजबुत बनाउन नेपाल–भारत विकास साझेदारी अन्तर्गत उपहारस्वरुप प्रदान गरिने एम्बुलेन्स भारत सरकारको लामो समयदेखिको पहलहरु मध्ये एक रहेको कुरामा प्रकाश पारे । उनले यो पहल भारत र नेपालबीचको निकै बलियो र जीवन्त विकास साझेदारीको एक हिस्सा रहेको जुन विगत सात दशकमा झनै विस्तार भएको, गहिरिएर गएको र विविधताले भरिएको बताए ।
कार्यक्रममा नियोग उप–प्रमुखसँगको अन्तरक्रियाको क्रममा लाभार्थीहरुले उनीहरुका जिल्लाहरु र नेपालमा हाल संचालनमा रहेका विभिन्न विकास परियोजनाहरुमा भारतको सहयोगको लागि कृतज्ञता व्यक्त गरे । उनीहरुले नयाँ उपहारस्वरुप प्रदान गरिएका एम्बुलेन्सहरुले आ–आफ्नो क्षेत्रहरुमा स्वास्थ्य सेवाहरुमा पहुँच बढाउन मद्दत गर्ने विश्वास व्यक्त गरे । वीरगंज, पोखरा र धरानका लाभार्थीहरुले पनि यस्तै भावना व्यक्त गरे ।
भारत सरकारले नेपालको स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिँदै नेपालका विभिन्न भागहरुमा रहेका विभिन्न लाभार्थी संस्थाहरुलाई तीन दशकभन्दा बढी समयदेखि एम्बुलेन्स उपहारस्वरुप प्रदान गर्दै आएको छ । सन् १९९४ यता आज उपहारस्वरुप प्रदान गरिएका एम्बुलेन्स सहित भारत सरकारले नेपालभरि १०४९ एम्बुलेन्स उपहारस्वरुप प्रदान गरिसकेको छ । अन्य अवसरमा पनि नेपाल सरकारलाई यस्तै खाले सवारी साधन सम्बन्धी लजिस्टिक सहयोग प्रदान गरिएको छ ।
आजसम्म नेपालका विभिन्न शैक्षिक संस्थाहरुलाई ३०० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ । सन् २०२२ मा निर्वाचन सञ्चालन हेतु कानून कार्यान्वयन गर्ने निकायहरु र नेपालको निर्वाचन आयोगलाइ २०० वटा सवारी साधन उपहारस्वरुप प्रदान गरिएको थियो । हालसालै मे २०२५ मा ‘सगरमाथा संवाद’ को पहिलो संस्करणको आयोजनालाई सहज बनाउन नेपालको परराष्ट्र मन्त्रालयलाई १५ वटा विद्युतीय सवारी साधन उपहारस्वरुप प्रदान गरिएको थियो ।
भारत र नेपालबीच बहुआयामिक र बहुक्षेत्रीय विकास साझेदारी रहेको छ जसले दुवै देशका जनताबीचको निकटतालाई प्रतिबिम्बित गर्दछ । यस्ता बन्दोबस्तीका व्यवस्थाहरुको विस्तारले नेपालको विकास र दुवै देशका जनताबीचको सम्बन्धलाई अझ सुदृढ पार्न भारत सरकारको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।