काठमाडौँ– आज ११ बजे संसद भवन, नयाँबानेश्वरमा प्रतिनिधि सभा बैठक बस्दैछ । यस बैठकमा राष्ट्रिय सभाद्वारा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सम्बन्धी सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची रहेको छ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन–२०८२ पेस गर्नेछन्।
उपप्रधानमन्त्री र अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गर्न प्रस्ताव प्रस्तुत गर्ने छन्। यस प्रस्तावसँग सम्बन्धित मन्त्रालयबाट प्रारम्भिक वक्तव्य प्रस्तुत हुनेछ।
यसैबीच, नेकपा माओवादी केन्द्रले सत्तारुढ दलसँग सहमति गरेर संसद सुचारु गर्ने निर्णय गरे पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपा नेपालले यसलाई विरोध गर्दै आएका छन्। यसअघि, शुक्रबारको बैठकमा विरोधका बाबजुद पनि संसद सञ्चालन गरिएको थियो।
आजको बैठकमा यी महत्त्वपूर्ण विधेयक र प्रस्तावमाथि छलफल र निर्णय हुने अपेक्षा गरिएको छ।