भक्तपुर — सूर्यविनायक नगरपालिका–३, बालकोटमा वडागत सार्वजनिक सुनुवाइ कार्यक्रम मंगलबार भव्य रूपमा सम्पन्न भएको छ। राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजनामा र सूर्यविनायक नगरपालिकाको सहकार्यमा सम्पन्न कार्यक्रममा वडाबासी, जनप्रतिनिधि र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्थानीय सरकारलाई जनमुखी, पारदर्शी र उत्तरदायी बनाउने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा नागरिकहरूले प्रश्न राख्ने, जिज्ञासा व्यक्त गर्ने र सुझाव दिन पाउने अवसर पाएका थिए। सो अवसरमा सहभागिता जनाउनेको संख्या उल्लेखनीय रह्यो।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष दिपेन्द्र केसीले पछिल्लो एक वर्षमा वडा कार्यालयमार्फत भएका भौतिक पूर्वाधार निर्माण, सेवा प्रवाह र समग्र विकासका कार्यहरूबारे विस्तृत विवरण प्रस्तुत गरे। वडा सचिव शेषराज दहालले प्रशासनिक प्रक्रिया, सेवा प्रवाह र राजस्व व्यवस्थापनका पक्षमा जानकारीमूलक प्रस्तुति दिएका थिए।
सुनुवाइमा वडासदस्यहरू घनश्याम भट्टराई, जनक भण्डारी, हेमा दहाल खतिवडा, शहरी स्वास्थ्य केन्द्रका प्रमुख सुशील घिमिरे, खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष लबकुमार कार्की, प्रहरी प्रभाग बालकोटका प्रमुख हरिबहादुर खड्का, वरिष्ठ इन्जिनियर जनक न्यौपाने र वडाका इन्जिनियर रामजी दाहाललगायतका सरोकारवाला निकायका प्रतिनिधिहरूले नागरिकका प्रश्नको प्रत्यक्ष उत्तर दिएका थिए।
कार्यक्रमको मुख्य आकर्षण खुला प्रश्नोत्तर सत्र रह्यो, जसमा १५ जना सहभागीले सरोकारका विषयमा जिज्ञासा, गुनासो र सुझावहरू प्रस्तुत गरेका थिए। प्रस्तुत प्रश्नहरूको जवाफ सम्बन्धित अधिकारीहरूले दिए। वरिष्ठ इन्जिनियर जनक न्यौपानेले बालकोट क्षेत्रमा एक साताभित्र सीसीटीभी जडान गरिने जानकारी पनि दिएका थिए।
कार्यक्रममा बालकोट क्षेत्रलाई “भक्तपुरको बानेश्वर” भनेर सम्बोधन गर्दै तीव्र शहरीकरण, बढ्दो बसोबासको चाप र जीवनशैलीको परिवर्तनका विषयमा बहस पनि अघि सारिएको थियो। कार्यक्रममा संघीयताको अभ्यासअन्तर्गत ‘गाउँ–गाउँमा सिंहदरबार’ नारालाई व्यवहारमा उतार्न वडास्तरीय प्रयास कति प्रभावकारी छ भन्ने विषयमा पनि समिक्षा गरिएको थियो।
राष्ट्रिय सञ्चार केन्द्रका उपाध्यक्ष पुष्करराज बुढाथोकीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन केन्द्रका सचिव हेमराज ढकालले गरेका थिए। कार्यक्रमको प्रारम्भमा पत्रकार दिवस गुरागाईंले सार्वजनिक सुनुवाइको औचित्य, प्रक्रिया र अपेक्षित परिणामबारे मन्तव्य राखेका थिए। कार्यक्रम राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशल आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो।