काठमाडौं–देब्रे घुँडाको उपचार गर्न गएकी विन्दु पौडेलको दायाँ घुँडाको अप्रेशन गर्ने चिकित्सकद्धय प्रविण नेपाल र शैलेज रञ्जितकारलाई नेपाल मेडिकल काउन्सिलले निलम्वन गर्ने भएको छ ।


ADVERTISEMENT


चितवन, भरतपुरकी पौडेलको देब्रे घुँडाको लिगामेन्ट टियरको उपचार गर्नु पर्नेमा नर्भिक इन्टरनेशनल हस्पिटलमा कार्यरत चिकित्सक द्धय नेपाल र रञ्जितकारले एक साता अघि दायाँ घुँडाको अप्रेशन गरेका थिए । काउन्सिलको इथिकल कमिटिले चिकित्सकद्धय नेपाल र रञ्जितकारसँग मौखिक एवं लिखित बयान लिनुका साथै विज्ञहरुको राय समेतका आधारमा गम्भीर लापरवाही भएको निष्कर्ष निकालेको छ । इथिकल कमिटिका एक सदस्यले भने,‘कारवाहीस्वरुप निलम्बन गर्नु पर्ने निष्कर्षमा पुगेका छौं । निलम्बन कति अवधिका लागि गर्ने भन्ने कुरामा छलफल भइरहेको छ। टुंगो लागेको छैन ।’


ADVERTISEMENT

# # #


अप्रेशन गर्नु अघि डा. नेपाल र रञ्जितकारले विरामी र सहयोगी स्वास्थ्यकर्मीसँग परामर्श नगरेको पाइएको छ । विरामीलाई बेहोस गराउनु अघि र वेहोस गराएपछि आवश्यक परामर्श नगरि अप्रेशन गर्नु लापरवाही भएको काउन्सिल स्रोतले बतायो । ‘एउटा घुँडाको उपचार गर्न आएको व्यक्तिको अर्को घुँडाको उपचार गर्नु नै लापरवाही हो,’स्रोतले भन्यो,‘ अप्रेशन गर्नु अघि विरामीको अवस्था बारे सबै कुरा अवगत गराउनु पर्ने हुन्छ । त्यो पनि पालना गरेको पाइएन । अप्रेशन गर्दा विरामीसँग सहमति लिनु पर्नेमा त्यसको समेत वेवास्ता गरियो ।’

त्यसका साथै अप्रेशन पछि हतार/हतारमा पीडित पक्षसँग सहमति गरिएको र उपचार गराउन नखोजेको खुट्टाको घुँडा समस्या भएको जबरजस्ती जिकिर गरि लापरवाही ढाकछोप गरेको पाइएको काउन्सिल स्रोतले बतायो । काउन्सिलको इथिकल कमिटि समक्ष पनि चिकित्सकद्धय नेपाल र रञ्जितकारले इथिकल कमिटिसमक्ष दायाँ घुँडामा पनि समस्या देखिएकोले आफूहरुले अप्रेशन गरेको जिकिर गरेका थिए ।

यस विषयमा पीडित पक्षले उजुरी नगरेपनि सञ्चारमाध्यममा प्रकाशित समाचारका आधारमा छानविन अघि बढाइएको काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बास्कोटाले बताए । एउटा घुँडामा गर्नुपर्ने अप्रेशन अर्को घुँडामा गरेपछि पीडितका आफन्तले तत्कालै विरोध गरेका थिए । अप्रेशनमा संलग्न डा. नेपाल र रञ्जितकारले भुलवश मानवीय त्रुटी हुन गएको स्वीकार गर्दै फागुन १७ गते पीडित पक्षसँग मिलापत्र गरेका थिए ।

३८ वर्षिया पौडेलको अप्रेशन गरिएको दायाँ घुँडाको कारण भविष्यमा आइपर्ने स्वास्थ्य समस्याको उपचार गर्ने सहमति अस्पतालले गरेको थियो।

देब्रे घुँडाको लिगामेन्ट टियरको उपचार र यस सँग जोडिएर आउने नसा लगायतका समस्याहरु निःशुल्क उपचार गर्ने जिम्मेवारी अस्पताल व्यवस्थापनले लिएको छ । यसका साथै दुवै गोडाहरुको भविष्यमा हुन सक्ने सम्पूर्ण उपचार निःशुल्क गरिने गरि अस्पताल व्यवस्थापन पक्षले पीडित पक्षसँग सहमति गरेको थियो ।

अप्रेशनका बारेमा इथिकल कमिटिले सम्बन्धित विधाका विज्ञ चिकित्सकहरुसँगसमेत परामर्श गरि राय लिएको थियो । अस्पतालबाट आवश्यक कागजपत्र समेत माग गरि पाँच सदस्यीय इथिकल कमिटिले एक साता सम्म अनुसन्धान गरेको थियो ।