काठमाडौं – साझा यातायातले ‘सेमी–लो फ्लोर’ बस सञ्चालनमा ल्याएको छ । ललितपुर पुल्चोकस्थित साझा यातायातको कार्यालयमा बुधबार आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र ललितपुर महानगरपालिकाका चिरीबाबु महर्जनले रिबन काटेर सेवा उद्घाटन गरे ।


ADVERTISEMENT


कार्यक्रममा मेयर शाक्यले ठूला आकारका यस्ता बसले अपाङ्ग, अशक्त, जेष्ठ नागरिक, बालबालिका र बिरामीहरुलाई सहज रुपमा यात्रा गर्न उपयोगी रहेको साथै उपत्यकामा ट्राफिक जाम कम गर्न पनि ठूला बसको आवश्यकता रहेको बताए ।


ADVERTISEMENT

# # #


ललितपुरका मेयर महर्जनले काठमाडौं महानगरपालिकाले साझा बस सञ्चालनका लागि साझा यातायातलाई ५ करोड रुपैयाँ उपलब्ध गराउँदा ललितपुर महानगरपालिकाले १ करोड रुपैयाँमात्रै उपलब्ध गराएकाले यस अर्थमा काठमाडौं महानगरपालिका यात्रुमैत्री ठूला बस सञ्चालनका लागि ललितपुरभन्दा उदार देखिएको बताए ।

महर्जनले आफू विद्यार्थी छँदादेखि नै साझा बसको सौखिन रहेको बताउँदै पैसा नभएको त्यस समयमा भाडा नतिरी साझा बसमा यात्रा गरेको पनि स्मरण गरे ।
कार्यक्रममा साझा यातायातका अध्यक्ष कनकमणी दीक्षितले समग्र नेपालकै सार्वजनिक यात्राका सन्दर्भमा साझा यातायातले ऐतिहासिक कालखण्ड पार गरेर यस स्थानसम्म आइपुगेको बताए ।

विकसित मुलुकका सहरमा सञ्चालन हुने युरो ४ मापदण्डको ‘सेमी लो फ्लोर’ नेपालमा पहिलो पटक साझा यातायातले सञ्चालनमा ल्याएको दीक्षितको भनाइ छ । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आईएमई नेपालका अध्यक्ष चन्द्र ढकालले साझा बसले यात्रुहरुलाई सहज र भरपर्दो सेवा प्रदान गर्दै काठमाडौंको ट्राफिक जाम कम गर्ने विश्वास व्यक्त गरे ।

बुधबार उद्घाटन गरिएको ‘सेमी लो फ्लोर’ बस लगनखेलको पाटन अस्तपाल, जाउलाखेल, कुपण्डोल, त्रिपुरेश्वर आँखा अस्पतार, वीर अस्पताल, जमल, लैनचौर, लाजिम्पाट, महाराजगञ्ज कान्ति बाल र शिक्षण अस्पताल हुँदै बाँसबारी सहिद गङ्गालाल अस्पताल र न्युरो हस्पिटल रुटमा सञ्चालन हुने छ ।

७० वर्ष पुगेका जेष्ठ नागरिक परिचयपत्र बाहक र ५ वर्ष मुनिका बालबालिकाले निःशुल्क यात्रा गर्नसक्ने यस बसमा ८० जना यात्रु अटाउनसक्ने साझा यातायातका कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए ।

नविकरणीय ऊर्जा र वातावरणीय स्वच्छतालाई अभिवृद्धि गर्दै विद्युतबाट चल्ने सहित थप २० वटा बस सञ्चालको तयारी पनि अन्तिम चरणमा पुगेको पाण्डेयले जानकारी दिए ।

“साझाले थप २० वटा बस सञ्चालनको खाका अगाडि सारेको छ,” पाण्डेयले भने, “विद्युतीय ठूला बस सञ्चालनको तयारी पनि अन्तिम चरणमा पुगेको छ, अशोक लेल्याण्ड कम्पनीसँग यसको सम्झौता भइसकेको छ ।”