ओखलढुङ्गा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्लामा सरकारी अधिकारी, सञ्चारकर्मी, स्थानीय तहका प्रतिनिधि र सरोकारवाला तथा स्थानीयवासीसँग भ्रष्टाचार निवारणका विषयमा साक्षात्कार गरेको छ ।
आयोगको बर्दिबास कार्यालयका उपसचिव तुलसीराम पराजुलीले देश, प्रदेश तथा जिल्लामा भ्रष्टाचार र उजुरीको अवस्था, भ्रष्टाचार हुने कारण, उजुरी, मुद्दा प्रक्रिया, भ्रष्टाचार न्यूनीकरणका उपाय र भ्रष्टाचार गरेमा हुने कठोर सजायका विषयमा जिल्ला–जिल्लामा पुगेर अन्तरक्रिया गर्ने गरिएको बताए।
आयोगको नियमित कार्यक्रमअनुसार जिल्लामा पुग्दा स्थलगत रूपमा त्यस जिल्लामा भएरगरेका आर्थिक र नीतिगत भ्रष्टाचारका विषयमा जानकारी लिने र आयोगका काम कारबाहीका विषयमा समेत सुझाव लिने गरिएको उनको भनाइ छ ।
कार्यालय प्रमुख रामबहादुर कुरुवाङले भ्रष्टाचार नियन्त्रण गर्ने दायित्व आयोगको मात्र नभई सबैको रहेको बताउँदै कानुनले दिएको अधिकार, कर्तव्य, कार्यविवरणबमोजिम सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ भने ।