काठमाडौँ – प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती सेवा विधेयकमा उल्लेख कुलिङ पिरियडको प्रावधानबाट समिति पछि नहट्ने स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


बिहीबार सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै सभापति खतिवडाले लामो छलफल र बिज्ञहरुसंगको परामर्शपछि विधेयक पारित भएको भन्दै अहिले नै त्यसका रहेको कुलिङ पिरियडको प्रावधानबाट पछि हट्न वा संशोधन गर्न नसकिने स्पष्ट पारेका हुन् । उनले भने, ‘समितिले गरेको निर्णय संसदमा जान्छ, संसदले उल्ट्याएर आयो भने फेरि हेरौँला । अहिले समिति आफूले गरेको निर्णयमा दृढ छ ।’


ADVERTISEMENT

# # #


निजामती कर्मचारीबाट बाहिरिएको भोलिपल्टै अर्को कुनै निकायमा नियुक्त हुँदा स्वार्थको द्वन्द देखिने भएकाले कुलिङ पिरियडको प्रावधान ल्याएको भन्दै उनले यस्तो प्रावधान अन्य देशमा समेत रहेको उल्लेख गरे ।

‘हामीले सर्वसम्मत निर्णय गरिसकेका छौँ, कुलिङ पिरियडको चर्चा छ । कतिपय स्वार्थको द्वन्द्वका कारणले सचिवहरु हुने, मुख्यसचिव हुने र आफैले गरेको निर्णय अर्को ठाउँले उल्ट्याउने ठाउमा भएका उदाहरण छन् ।’ उनले भने, ‘हामीले कुनै पनि कर्मचारीलाई अविश्वास गरेको होइन, ३० वर्ष सेवा गरिसकेपछि २ वर्ष रिचार्ज गर्नुहोस्, फ्रेस हुनुस् । त्यसपछि देशका लागि आवश्यक पर्दा आउनुहोस् ।’

सभापति खतिवडाले कुलिङ पिरियडको विषयमा मुख्यसचिव लगाएतका सचिवहरुको चासो अस्वभाविक रहेको जिकिर गरे । समितिले पारित गरेको विधेयकलाई छिटो भन्दा छिटो सदनमा लाने तयारी भइरहेको उनले बताए ।

उनले भने, ‘अघिल्लो दिन वा फलानो ठाउँमा नियुक्ति हुँदैछ भनेर जागिर छोडेर त्यो ठाउँमा जानेर कहिलेकाहीँ राजनीतिक शक्तिसँग नचाहिँदो नेक्सस कायम गरेर स्वार्थको द्वन्द्व बाझिने गरी फाइदा लिने काम भयो भने हामीले कल्पना गरेको संघीयता र सुशासन कहाँ जान्छ भन्ने चिन्ताको विषय हो ।’

उनले समितिले पारित गरको विधेयकलाई असंवैधनिक भन्ने अधिकार कसैलाई नरहेको जिकिर गरे ।