काठमाडौँ – शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक, २०८० लाई टुङ्गोमा पुराउन आफू गम्भीर रहेको बताएका छन् ।
बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उपसमितिको प्रतिवेदन माथि छलफलका क्रममा मन्त्री पन्तले निरन्तर छलफल गरी विद्यालय शिक्षा विधेयकलाई टुङ्गोमा पुर्याउन आफू गम्भीर रहेको बताएका हुन् ।
विधेयकमा रहेका कतिपय विषयमा राजनीति तहमा पनि सहमति खोज्नुपर्ने देखिएको उनले बताए । मन्त्री पन्तले विधेयकमा सहमति भएका विषयलाई अघि बढाउने र सहमति हुन नसकेका विषयमा अन्तिममा टुङ्गोमा पुराउने गरी छलफल अघि बढाउन सुझाव दिए ।
समिति सभापति अम्वर बहादुर थापाले जेठ १५ गते बजेट आउनुअघि नै विधेयकलाई टुङ्गोमा पुराउनुपर्नेमा जोड दिए । उनले अनिवार्य शिक्षा क्षेत्रका सुधारका लागि राज्यलाई एकैपटक भार नपर्ने गरी चरणबद्ध रुपमा सुधारका योजना ल्याउनुपर्ने जिकिर गरे ।
यसअघि उपसमितिले विभिन्न १५ वटा परिच्छेद र १६३ वटा दफामाथि छलफल गरेर १०८ बुँदाको प्रतिवेदन समिति समक्ष पेश गरिसकेको छ ।