काठमाडौँ – शक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकका सम्वन्धमा उपसमितिको प्रतिवेदनमाथि हतारमा टिकाटिप्पणी गर्नु उचित नहुने बताएका छन् ।
सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री पन्तले उपसमितिको प्रतिवेदनमाथि छलफल नै गर्न बाँकी भएको र केही विषय अझै टुङ्गो लाग्न नसकेकाले हतारमा टिकाटिप्पणी गर्नु उचित नहुने बताएका हुन् । उनले विद्यालय शिक्षा विधेयकका अपूर्ण विषयलाई समितिमार्फत पूर्ण गरिने बताए ।
उनले भने, ‘उपसमितिले आफ्नो राय दिएको हो । त्यसमा कतिपय विषयमा छलफल गर्नै बाँकी छ । समितिमा छलफल हुन्छ, बाँकी छलफल हुन्छ । अहिले हतार गर्नु हुन्न ।’ उपसमितिको प्रतिवेदनमाथि यहि ७ गतेदेखि शिक्षा समितिमा छलफल हुने भएकोले हतार गर्न नहुने उनको भनाई छ ।
विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिले आइतबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा प्रतिवेदन बुझाएको थियो । उपसमितिको प्रतिवेदनमाथि शिक्षक महासंघले असन्तुष्टि जनाइसकेको छ ।