काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले जेठ १५ गते हुने गणतन्त्र दिवसको आयोजनाका लागि गणतन्त्र दिवस मूल समारोह समिति गठनका लागि सोमबार बैठक बोलाएका थिए । जसमा काठमाडौँमा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई पनि प्रधानमन्त्रीले निमन्त्रणा गरेका थिए ।
तर, प्रमुख बालेन बैठकमा उपस्थित भएनन् । उनको स्थानमा उपप्रमुख सुनिता डंगोल काठमाडौँ महानगरको प्रतिनिधिको रुपमा बैठकमा सहभागी भइन् । बैठकमा बैठक कक्षमा बालेनको नाम अंकित नेमप्लेट र कुर्सी खाली देखेपछि प्रधानमन्त्री ओलीले उनको अनुपस्थितिबारे चासो राखे ।
उनले मुख्य सचिव एकनारायण अर्याललाई बालेनलाई लक्षित गर्दै सरकारले बोलाएको छलफलमा आउने वा नआउने भन्ने सोध्न निर्देशन दिए । ‘यो कहिल्यै पनि नआउने, नाम राखिरहनुपर्ने, मानका खातिर मानको चलन छोडिदिनुपर्छ कि क्या हो !’ उनले भने, ‘केही-केही मान्छेको नाम सधैँ राख्ने गर्छौँ हामीले, कहिल्यै पनि देखापर्दैन । कुनै व्यक्तिलाई अर्थै छैन, महत्वै छैन भने सधैँ नाम झुण्ड्याइ राख्नुपर्ने नगरे पनि हुन्छ । कि तपाईंहरु सोध्नुस् आउने हो कि होइन भनेर ।’
जवाफमा मुख्य सचिव अर्यालले प्रधानमन्त्रीले बोलाएको बैठकमा उपस्थित हुनु सबैको कर्तव्य हुने बताए । यद्दपि उनले कोही व्यक्ति उपस्थित नहुँदा त्यसको कारण सोध्न गाह्रो हुने उल्लेख गरे । उनले भने, ‘यसमा सोध्न पनि गाह्रो । जिल्ला बाहिर हुँदा त एउटा विषय हो । होइन भने औपचारिक बैठकमा आउनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’ साथै उनले प्रधानमन्त्री बसिरहेको बेला बैठक नै छाडेर जाने प्रवृत्ति पनि उचित नरहेको उनले बताए ।
पुनः प्रधानमन्त्री ओलीले सरकारले गर्ने उच्च स्तरीय कमिटीमा सहभागिताका लागि पटकपटक नआउनेहरुलाई अर्कोपटक देखि नाम काट्न निर्देशन दिए । उनले भने, ‘जसलाई न चाड, न पर्व न केही, कुनै वास्ता नभएको, त्यस्तोमा सधैँ बोलाउनुपर्ने, हामीलाई बोलाउनुपर्ने बाध्यता हुने, आउनुपर्ने नआइदिने यस्ता हुँदैन । अर्को पटकसम्म सोधिखोजी गर्नुहोला, हेर्नुहोला, रेकर्ड हेरेर, आउने हो कि होइन, सोधेर नआउने भए नाम नराख्नुहोला ।’
त्यसपछि बैठक अघि बढेको थियो । प्रधानमन्त्रीले बोलाएको उक्त बैठकले सरकारले यस वर्षपनि गणतन्त्र दिवस तीनदिनसम्म भव्यताका साथ मनाउने निर्णय गरेको छ । जसका लागि गणतन्त्र दिवस मूल समारोह समिति गठनका लागि सोमबार सिंहदरबारमा बसेको बैठकले गणतन्त्र दिवस प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन भएको छ ।