काठमाडौँ — प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले दिगो विकासका लक्ष्य पूरा हुनेगरी बजेट व्यवस्था गरिनुपर्नेमा जोड दिएका छन् ।
नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद नारायण खड्काले दिगो विकासका लक्ष्य पूरा गर्न ७ वर्षमा २१ खर्ब बजेट आवश्यक पर्ने राष्ट्रिय योजना आयोगले जनाएकाले सोहीअनुसार व्यवस्था गरिनुपर्ने माग गरे ।
परराष्ट्र नीति प्रभावकारी कार्यान्वयन गर्ने वातावरण बनाउनुपर्ने भन्दै उनले नीति तथा कार्यक्रममा समावेश भएका योजना सकारात्मक भए पनि कार्यान्वयनमा समस्या आउने गरेकाले अहिलेदेखि प्रभावकारी कार्यान्वयनको वातावरण बनाउनुपर्नेमा जोड दिए ।
सांसद महेश बर्तौलाले नीति तथा कार्यक्रमले अनुसन्धानमा आधारित उच्च शिक्षामा जोड दिएको बताए । ‘कमाउँदै पढ्दै’ जस्ता कार्यक्रम सकारात्मक रहेका बताउँदै उनले कृषिसम्बन्धी प्रस्तुत गरिएका कार्यक्रमले कृषक र कृषि क्षेत्रमा उल्लेख्य परिवर्तन गर्ने विश्वास व्यक्त गरे ।
सांसद सन्तोष परियारले मात्रात्मकबाट गुणात्मक फड्को मार्ने किसिमले नीति तथा कार्यक्रम नआएको बताए । जनताको मौलिक अधिकार कार्यान्वयन गर्न नीति तथा कार्यक्रम र बजेटले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले सोहीअनुसार बजेट विनियोजना गर्नुपर्नेमा जोड दिए ।