काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।


ADVERTISEMENT


आइतबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ओलीले इतिहासमा विसर्जन भइसकेको सामन्ती सोच पुनर्जीवित गरी गणतन्त्रको मूल मर्ममाथि प्रहार गर्ने प्रयास भइरहेको आरोप लगाए। संविधान र व्यवस्थाका विरुद्ध हिंसात्मक तथा अराजक गतिविधि हुन थालेको उल्लेख गर्दै उनले यस्ता प्रतिगामी क्रियाकलापको कानूनी रूपमा प्रतिवाद गरिने चेतावनी दिए।


ADVERTISEMENT

# # #


“संविधानको मूल मर्मको रक्षा गर्नु र वर्तमान संघीय संरचनालाई सुदृढ बनाउनु सरकारको प्राथमिकता हो,” प्रधानमन्त्री ओलीले भने। उनले दलहरूबीचको स्वस्थ प्रतिस्पर्धा, संवाद, सहकार्य र सहअस्तित्वका आधारमा राजनीतिक स्थायित्व र नीतिगत स्पष्टता कायम गर्ने सरकारको प्रयास जारी रहने बताए।

प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम पुराना वा दोहोरिएका नभएको दाबी गर्दै पूर्वाधार परियोजनाहरूलाई पुनः प्राथमिकतामा राखिएको जानकारी दिए। उनले राष्ट्रिय गौरवका आयोजनाहरूको पुनरावलोकन गरी आर्थिक वर्ष २०८२/८३ भित्र सक्ने गरी स्पष्ट कार्ययोजना बनाउने घोषणा गरे।

उनले कृषिको व्यावसायीकरण, पूर्वाधार विकास, शिक्षा सुधार तथा सर्वसुलभ स्वास्थ्य सेवाको विस्तारलाई प्राथमिकतामा राखिएको उल्लेख गरे। “स्वास्थ्य बिमा प्रणालीलाई एकीकृत र दिगो बनाउँदै, सबै सार्वजनिक अस्पतालहरूलाई अनलाइन सेवामा जोड्ने तयारी भइरहेको छ,” प्रधानमन्त्रीले भने।

अन्त्यमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा प्राप्त सुझावहरूलाई समेट्दै कार्यान्वयनमा लैजाने सरकारको प्रतिबद्धता दोहोर्‍याए।