काठमाडौँ – भारतको रक्षा मन्त्रालयले अनुमति बिना कुनै पनि सुरक्षा गतिविधिको लाइभ रिपोर्टिङ नगर्न सञ्चारमाध्यम, डिजिटल प्लेटफर्महरू र सर्वसाधारणलाई कडा निर्देशन दिएको छ।
भारत–पाकिस्तानबीचको पछिल्लो तनावको पृष्ठभूमिमा मन्त्रालयले यस्तो निर्देशन जारी गरेको हो। यसबाट संवेदनशील सैन्य जानकारीको लाइभ प्रसारण वा रिपोर्टिङले सुरक्षाबलको रणनीति प्रभावित हुन सक्ने र नागरिकको सुरक्षामा पनि गम्भीर जोखिम उत्पन्न गर्न सक्ने मन्त्रालयको भनाई छ ।
रक्षा मन्त्रालयले कारगिल युद्ध, सन् १९९९, मुम्बई हमला, सन् २००८ (२६/११), तथा कन्दहार विमान अपहरण घटनाको उदाहरण दिँदै अनियन्त्रित र समयपूर्व रिपोर्टिङले कसरी राष्ट्रिय सुरक्षामा खतरा निम्त्याएको थियो भन्ने स्मरण गराएको छ।
केबल टेलिभिजन नेटवर्क (विनियमन) ऐन अन्तर्गतका प्रावधानहरूको स्मरण गराउँदै मन्त्रालयले भनेको छ कि आतंकवादविरुद्धको अभियान तथा सुरक्षा कारबाहीसम्बन्धी विवरणहरू मात्र आधिकारिक स्रोतबाट प्राप्त भएपछि मात्र सार्वजनिक गर्न सकिनेछ।
रक्षा मन्त्रालयले भनेको छ, “सबै सरोकारवालासँग आग्रह छ कि राष्ट्रको सुरक्षामा योगदान पुर्याउने उद्देश्यले कभरेज गर्दा सतर्कता, संवेदनशीलता र जिम्मेवारी पालना गरियोस्।”
मन्त्रालयले सबै मिडिया संस्थान, पत्रकार तथा अनलाइन प्रयोगकर्तालाई औपचारिक जानकारी बाहिर नआएसम्म कुनै पनि सुरक्षासम्बन्धी गतिविधि वा सैन्य कारबाहीको विवरण गोप्य राख्न र जिम्मेवार रिपोर्टिङ गर्न आह्वान गरेको छ।