काठमाडौँ– नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको नीति तथा कार्यक्रममा जनताको असन्तुष्टीलाई सम्बोधन हुने गरि नयाँ दृष्टिकोण र विचार आउन नसकेको बताएका छन् ।


ADVERTISEMENT


बिहीबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा केसीले ठूला दल मिलेर बनेको सरकारले सामाजिक गतिशीलता बुझ्न नसकेको र जनताको असन्तुष्टीलाई सम्बोधन हुने गरि नयाँ दृष्टिकोण र विचार ल्याउन नसकेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले आम जनतामा निराशा, असन्तुष्टि र अराजकतापूर्ण नकारात्मक स्थिति निर्माण भइरहेको अवस्थामा सरकारको कार्यक्रम राष्ट्रको समस्या समाधान गर्ने तर्फ नदेखिएको जिकिर गरे ।

त्यस्तै सांसद केसीले सीमान्तकृत र निरपेक्ष गरिबी रेखामुनि रहेका नेपाली जनताको आयको सुनिश्चितता र सामाजिक न्यायको प्रत्याभूति दिने खालको कार्यक्रममा केन्द्रीत हुनुपर्ने धारणा राखे ।

मुलुक ऋणको भारी र भ्रष्टाचारको महामारीले सिकिस्त बिरामी रहेको भन्दै केसीले भ्रष्टाचार, कुशासन, विधिविहीनता र दण्डहीनतालाई निर्ममतापूर्वक नियन्त्रण गर्ने कुराको प्रतिवद्धता र इच्छाशक्ति सरकारको कार्यक्रममा कम देखिएको उल्लेख गरे ।

उनले सरकार दण्डबिहिनता र भ्रष्टाचार कुशासनको संरक्षकको रुपमा रहेको भाष्य नेपाली जनतामा रहेकोमा त्यसलाई निराकरण गर्नका लागि सरकार गम्भीर हुनुपर्ने बताए । केसीले दुई तिहाइको समर्थनको सरकारले १० महिनाभित्र पुँजीगत खर्च एक तिहाइ पनि गर्न नसक्नुलाई कति सक्षम वा असक्षम भन्ने कुरा सरकारले गम्भीर भएर सोच्नुपर्ने आवश्यकता रहेको तर्क गरे ।