मकवानपुर–मकवानपुरको राक्सिराङ गाउँपालिका–६, ७ र ८ का स्थानीय अब चितवनको बाटो नहिँडिकनै मनहरी हुँदै सिधै हेटौंडा आउन सक्ने भएका छन्।


ADVERTISEMENT


बागमती प्रदेश कांग्रेस सभापति तथा सांसद इन्द्रबहादुर बानियाँको निजी पहल र मनहरी गाउँपालिकाको सहकार्यमा लोथर–पाङ्थली सडक ट्रयाक निर्माण भएपछि १७ किलोमिटरको यात्रा छोटिएको हो।


ADVERTISEMENT

# # #


बानियाँले करिब ७ किमी सडक आफ्नो निजी एक्साभेटर प्रयोग गरी बनाएका थिए भने मनहरी गाउँपालिकाले सडक स्तरीकरणका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको हो। उद्घाटन कार्यक्रममा बोल्दै बानियाँले मोटरेबल पुल निर्माण गरी सडकलाई स्थायित्व दिने प्रतिबद्धता जनाए।

बानियाँले भने, ‘मैले यस क्षेत्रबाट निर्वाचन जित्दा नै निजी पहलबाट यो बाटो सुरु गरेको हुँ। अहिले मनहरी गाउँपालिकाले ३० लाख रुपैयाँ लगानी गरेको छ। यसरी गणतन्त्रमा विकास सम्भव छ भन्ने महशुस हुने बाटो बनेको छ।’

उनले गणतन्त्र, संघीयता, समावेशिता र जनप्रतिनिधिको पहुँचले गाउँमा विकास ल्याएको भन्दै थपे, ‘राजतन्त्र र पञ्चायती व्यवस्थाको समयमा राक्सिराङका जनताले न बाटो पाएका थिए, न बत्ती। आज भने दुवै पाएका छन्। अब जनप्रतिनिधि मार्फत स्थानीय, प्रदेश र संघीय सरकारबाट सेवा सुविधा दिन सकिन्छ भन्ने विश्वास जनतामा बढेको छ।’

स्थानीय जनप्रतिनिधिहरूले सडकले गाउँको आर्थिक–सामाजिक विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।