काठमाडौँ – नेपाल विद्युत प्राधिकरणले प्राधिकरण हाल ५ अर्ब २६ करोड नोक्सानीमा रहेको जनाएको छ ।
शुक्रबार काठमाडौंमा श्वेत पत्र सार्वजनिक गर्दै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आयकर ऐनको प्रावधान अनुसार थप ह्रासकट्टीको दाबीसहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानीमा रहेको बताएका हुन् ।
उहाका अनुसार आर्थिक बर्ष २०८०/०८१ सम्म प्राधिकरणको कुल संचित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको छ भने चालु आर्थिक बर्षको फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड भएको छ । तर आयकर ऐनको प्रावधान अनुसार थप ह्रासकट्टीको दाबीसहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी मै रहेको देखिएको शाक्यले बताएका हुन् ।
उनले हाल प्राधिकरणसँग नगद मौज्दात नभएकाले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाएको जानकारी दिए । प्राधिकरणमा नेपाल सरकारको शेयर लगानी २ खर्ब ६ अर्ब ७४ करोड, संचित नाफा ४६ अर्ब ४७ करोड र अन्य जगेडा तर्फ ५ अर्ब ८९ करोड गरी जम्मा इक्विटी २ खर्ब ५९ अर्ब १० करोड रहेको शाक्यले बताए । उनले १४ अर्ब १० करोड बराबरको रकम शोधभर्ना प्राप्त गर्न बाँकी नै रहेको उल्लेख गरे ।
त्यस्तै प्राधिकरणले २०८१ अषाढ मसान्तसम्मको डेडिकेटेड फिडर तथा ट्रंकलाइनतर्फको २३ अर्ब ४४ करोडसहित २०८१ फाल्गुनसम्म प्राधिकरणको जम्मा बक्यौता ४४ अर्ब ५४ करोड रहेको जनाएको छ ।
२०८१ माघ महिनासम्म प्राधिकरणको कुल ग्राहक संख्या ५५ लाख ८६ हजार ३७ रहेको र आन्तरिक उच्चतम माग २ हजार ३ सय ३७ रहेको जानकारी गराएको छ । त्यस्तै प्राधिकरणले हालसम्म ११ हजार १ सय ८५ मेगावाट क्षमताको विधुत खरिद सम्झौता सम्पन्न भइसकेको जनाएको छ ।