काठमाडौं–प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको शपथ आइतबार हुँदै छ भने दुवै संसद्को छुट्टाछुट्टै बैठक सोमबारबाट प्ररम्भ हुने भएको छ । अपराह्न ४ बजे प्रतिनिधिसभाको हलमा प्रतिनिधिसभाका सांसदले ज्येष्ठ सदस्य महेन्द्रराय यादवबाट र अपराह्न ५ बजे राष्ट्रियसभाका ५६ सांसदले ज्येष्ठ सदस्य तारादेवी भट्टबाट शपथ लिनेछन् ।


ADVERTISEMENT


प्रतिनिधिसभाका ज्येष्ठ सदस्य यादव राजपा अध्यक्षमण्डलका नेता हुन् भने राष्ट्रियसभाका ज्येष्ठ सदस्य भट्ट कांग्रेस नेत्री हुन् । राष्ट्रियसभामा मन्त्रिपरिषद्बाट सिफारिस भएका तीन सदस्यको शपथ भने पछि हुने भएको छ । सर्वोच्चको आदेशका कारण उनीहरूको शपथ तत्काल रोकिएको हो ।


ADVERTISEMENT

# # #


स्थानीय, प्रदेश र संघीय संसद्को निर्वाचन सम्पन्न भई संविधान कार्यान्वयन भएको सन्देशसहित बस्ने संसद्मा राष्ट्र र जनताबीच गणतन्त्रप्रतिको प्रतिबद्धतालाई मूल रूपमा उठाउने सांसदहरूले बताएका छन् ।

कांग्रेसले सरकारले संसद्मा प्रस्तुत गर्ने नीति तथा कार्यक्रमका आधारमा आफ्नो धारणा बनाउने बताएको छ । वाम गठबन्धनमा रहेका एमाले र माओवादी केन्द्र भने सरकारलाई पूर्णता दिँदै संसद्मा प्रवेश गर्ने र यथाशीघ्र पार्टी एकता सम्पन्न गर्ने तयारीमा छन् । मधेसवादी दल संसद् प्रारम्भ भएको एक महिनाभित्र संविधान संशोधनको मुद्दा किनारा लगाउने रणनीतिमा छन् ।–आजको अन्नपूर्ण पोस्टबाट