काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले संविधान विपरित हुने कुनै पनि षडयन्त्रविरुद्ध सबै दल एक भएर अघि बढ्नुपर्ने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै महामन्त्री थापाले मुलुकको परिवर्तनबिरुद्धको आक्रमण कुनै पनि हालतमा स्वीकार्य नभएको भन्दै संविधान विपरित हुने कुनै पनि षडयन्त्रबिरुद्ध सवै दल एक भएर अघि बढ्नुपर्ने बताएका हुन् ।
विभिन्न कारणले जनता आक्रोशित भएको भन्दै उनले एकताबद्ध भएर समस्याको समाधान खोज्नुपर्नेमा जोड दिए । संविधान र लोकतन्त्रप्रति माओवादी अध्यक्ष प्रचण्डले राखेको प्रतिबद्धता सकारात्मक भएको भन्दै उनाले संविधान र व्यवस्थाको रक्षाको लागि कांग्रेस दृढताका साथ उभिएको धारणा राखे ।
महामन्त्री थापाले सत्तामा आफू हुँदा ठिक र आफू नहुँदा सबै बिग्रियो भन्ने भ्रम त्याग्नुपर्ने बताए । उनले संविधान निर्माण गर्ने दलहरु नै संविधानमा रहेका व्यवस्थाका विषयमा विभाजित हुनु उचित नभएको धारणा राखे । एक अर्कालाई दोष लगाउनुभन्दा पनि व्यवस्थलाई बलियो बनाउनका लागि साझा धारणा बनाउनुपर्ने उनले बताए ।
त्यस्तै थापाले विभिन्न प्रकरणका विषयमा सदनमा उठेको भन्दै राज्यले गरेका अनुसन्धानमा असन्तुष्टि भए छानविन समिति बनाउन छलफल गर्नुपर्ने उल्लेख गर्नुभरे । उनले सरकारले पनि देश र जनतामा केन्द्रीत भएर काम गर्नुपर्ने र जनतामा विश्वासको वातावरण बनाउन सक्नुपर्ने बताए ।