काठमाडौँ– नेपाल सरकारका खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका जलशक्तिमन्त्री सिआर पाटिलले सोमबार खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
भारतको राजधानी नयाँदिल्लीमा आयोजित एक विशेष कार्यक्रमबीच खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको विकाससम्बन्धी महत्वपूर्ण समझदारीपत्रमा नेपाल सरकारका तर्फबाट मन्त्री यादव तथा भारत सरकारका तर्फबाट जलशक्तिमन्त्री सिआर पाटिलले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।
भारत र नेपाल दुवै देशबीच मैत्रीपूर्ण सहकार्यलाई प्रबर्धन गर्ने र स्वच्छता क्षेत्रमा अन्तर–सरकारी सहकार्यलाई सुदृढ, जल सुरक्षासम्बन्धी नेपाल सरकारका प्रयास तथा चिन्ताहरूलाई स्वीकार गर्दै, नेपालमा सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गर्ने र सुरक्षित वातावरणमा जनताको जीविकोपार्जनलाई सक्षम तुल्याउने उद्देश्य लिइएको छ ।
सम्झौतामा भूमिगत पानी व्यवस्थापन, प्रविधि तथा सूचना आदानप्रदान, बर्सातको पानी सङ्कलन तथा मापन, प्रविधि साझेदारी, नेपाल सरकारलाई प्रविधि तथा तालिम सहयोग रहने उल्लेख छ ।