काठमाडौं–नेपालले अर्को वर्षभित्र आफ्नै भू-उपग्रह प्रक्षेपण गर्न तयारी थालेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले जापानको एक कम्पनीसँग सम्झौता गरी आफ्नै भू-उपग्रह स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको हो।


ADVERTISEMENT


भू-उपग्रहसम्बन्धी अध्ययन-अनुसन्धान गर्न नास्टले माघ ३ गते जापानको क्युटेक (क्युस इन्स्टिच्युट अफ टेक्नोलोजी) सँग सम्झौता गरेको नास्टका उपकुलपति डा.जीवराज पोखरेलले जानकारी दिए।


ADVERTISEMENT

# # #


नास्टले यो इन्स्टिच्युटमा भू-उपग्रहसम्बन्धी अध्ययन गर्न दुई वर्षका लागि दुई जना इन्जिनियरलाई जापान पठाउने भएको छ । नास्टले इलेक्ट्रोनिक इन्जिनियर हरेराम श्रेष्ठलाई जापान पठाउन छनोट गरिसकेको छ भने अर्का एक प्राविधिकको छनोट कार्य जारी राखेको छ ।

नेपालमा भू-उपग्रहबारे जानकार जनशक्ति नभएका कारण अध्ययनका लागि प्राविधिकलाई जापान पठाउन लागिएको हो । दुई जनामध्ये एक जनालाई इन्स्टिच्युटले पूर्ण छात्रवृत्ति दिने भएको छ भने अर्का एक जनाको खर्च सरकारले नै व्यहोर्नु पर्ने छ ।

नास्टले यसका लागि अर्थ मन्त्रालयसँग करिब १ करोड ८० लाख बजेट माग गरेको छ। तर, अर्थले भने बजेट उपलब्ध गराउने स्वीकृति जनाए पनि अझै उपलब्ध भने भइनसकेको उपकुलपति पोखरेलले जनाए । उनले भने, ‘हामीले तीन महिनाअघि नै बजेट माग गरेका हौं, अर्थले दिन्छु पनि भनेको हो तर अझै हामीले बजेट पाएका छैनौं ।’-आजको अन्नपूर्ण पोस्टबाट