काठमाडौँ – युएईमा आजदेखि सुरु भएको एसीसी यू–१९ एशिया कप क्रिकेटको पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको छ । आइतबार भएको खेलमा श्रीलंकाले नेपाललाई ५५ रनले हराएको हो ।
सारजहा क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनायो । २३४ रनको चुनौती पच्छ्याउँदै मैदान उत्रेको नेपाल ४६.१ ओभरमा सबै विकेट गुमाउँदै १७८ रनमै समेटिएको हो ।
नेपालका लागि मयन यादवले सर्वाधिक ६१ रन हाने । त्यसक्रममा उनले ९९ बलमा ३ चौका र २ छक्का प्रहार गरे । यस्तै आकाश त्रिपाठीले १९, उत्तम मगरले १७, नरेन साउदले १६, अर्जुन कुमाल र नरेन भट्टले समान १२–१२ रन जोडे ।
नेपाललाई सस्तैमा समेट्नेक्रममा श्रीलंकाका प्रविन मनिषले ३, विहस थेहोमिका र कुगदस मथुलनले समान २–२ विकेट लिए । यस्तै विरन चमुदिथ र न्युटन रजिथकुमारले समान १–१ विकेट हात पारे ।
यसअघि श्रीलंकका लागि सरुजन संमुगणथनले सर्वाधिक ६२ रन बनाए । उनले ९९ बलमा २ चौका प्रहार गरे । यस्तै लक्विन अभेसिंहेले ५३ बलमा २ चौका र १ छक्काको मदतमा ५० रन जोडे भने कभिजा गमागेले नटआउट ३७ रन हाने । यस्तै विमथ दिनसारा र दुलनिथ सिगेराले समान २४–२४ रन बनाए ।
बलिङतर्फ नेपालका सन्तोष यादवले सर्वाधिक ४ विकेट लिए । उनले १० ओभरमा ४५ रन खर्चिए । यस्तै युवराज खत्रीले २ विकेट लिँदा कप्तान हेमन्त धामी र नरेन साउद समान १–१ विकेट लिए । नेपालले दोस्रो खेल आइतबार बंगलादेशविरुद्ध खेल्नेछ ।
८ राष्ट्र सहभागी यू–१९ एशिया कपमा नेपाल समूह ‘बी’मा रहेको छ । जहाँ श्रीलंकासँगै बंगलादेश र अफगानिस्तान समेत रहेका छन् ।