काठमाडौं-वीरेन्द्र स्कुल भक्तपुर क्षेत्रमा १४ घण्टाको फरकमा पीएम २.५ को धुलोको प्रदूषण दुई सय ५१ माइक्रोग्राम परमिटर क्युले वृद्धि भयो । मंगलबार बिहान ६ बजे १२ माइक्रोग्राम परमिटर क्यु मात्र भएको वायुप्रदूषण राति ८ बजेसम्म वृद्धि भएर दुई सय ६३ पुग्दा वायुप्रदूषण स्तर वर्षकै उच्च भएको तथ्यांकले देखाएको छ ।


ADVERTISEMENT


वातावरण विभागको तथ्यांक हेर्दा भक्तपुरमा राति १० बजेसम्म पनि प्रदूषणको दर दुई सय ३० कायम छ । २४ घण्टालाई आधार बनाएर विभागले वायुप्रदूषणको अवस्था जाँच गर्दै आएको छ । मंगलबार मापदण्ड एक सय २२ कायम छ ।


ADVERTISEMENT

# # #


विश्व स्वास्थ्य संगठनको मापदण्डले २५ र राष्ट्रिय मापदण्डमा ४० माइक्रोग्राम परमिटर क्यु तोकेको छ । रत्नपार्क क्षेत्रमा राति ८ः३५ बजे पीएम २.५ आकारको धुलो दुई सय ३९ माइक्रोग्राम परमिटर क्यु पुगेको थियो यहाँ दिउँसो २.३० बजे २७ मात्र थियो । ६ घण्टाको फरकमा उपत्यकामा दुई सय १२ माइक्रोग्राम परमिटर क्यु वृद्धि भयो ।

महाशिवरात्रि भएकाले विभिन्न स्थानमा खुला क्षेत्रमा आगो बाल्ने काम तीव्र भएकाले प्रदूषणको अवस्था उच्च भएको हुन सक्ने वातावरण विभागकी प्रवक्ता सफला श्रेष्ठले बताइन् । अन्य दिनभन्दा बढी प्रदूषण बढ्नुमा खुला क्षेत्रमा आगो बाल्दा निस्कने धुवाँ नै पहिलो कारण भएको उनी बताउँछिन् ।

अमेरिकी दूतावासले राखेको फोरा दरबार क्षेत्रमा मंगलबार राति १२ बजे दुई सय २७ पुगेको छ । प्रदूषणको दर दुई सय माइक्रोग्राम परमिटर क्युभन्दा माथि पुगेपछि मानवस्वास्थ्यका लागि खतराजनक भएको वातावरणविद्ले बताएका छन् । पीएम २.५ धुलोको कण आँखाले नदेख्ने मसिनो हुँदा श्वासनली हुँदै रक्तनलीसम्म पुग्ने भएकाले श्वासप्रश्वासमा समस्या हुनुका साथै क्यान्सरजस्ता रोगको मुख्य कारण बन्ने गरेको भनेर स्वास्थ्यकर्मीले सचेत गराएका छन् ।

वातावरणमैत्री भनी हरियो स्टिकर टाँसिएका ४१ प्रतिशत सवारी प्रदूषित भएको वातावरण विभागको अनुगमनले देखाएको छ । सवारी प्रदूषण नै मुख्य भए पनि मंगलबार खुला आगो बाल्दा प्रदूषणले डाँडा काटेको हो ।

मंगलबार उपत्यकाका मन्दिर, चोकचोकमा आगो बालेर बस्दा प्रदूषणको दर बढे पनि सरकारी निकायबाट सचेतनाका लागि कुनै पहल भएन । सांस्कृतिक परम्परा भएको भन्दै विभागले यसमा कुनै चासो नदेखाएको जनायो । पशुपति क्षेत्र विकास कोष पनि वायुप्रदूषणको न्युनीकरणमा जिम्मेवार भएकाले दाउरा बाल्ने प्रचलनलाई वैकल्पिक व्यवस्था गर्नुपर्ने विभागको सुझाव छ ।

भारतमा प्रदूषणको अवस्थामा के गर्ने भनी स्तर विभाजन गरेर वायुप्रदूषण नियन्त्रण गर्ने गरेको छ । ६० देखि एक सय ८० सामान्य र स्तर दुईमा १८० देखि चार सय मुनि सचेत बन्नुपर्ने, स्तर तीनमा खतरामूलक चार सयदेखि ६ सयसम्म र स्तर चारमा ६ सयभन्दा माथि वातावरणीय आपतकालीन अवस्था भनेर स्तर वर्गीकरण गरी वैकल्पिक व्यवस्था गर्ने गरेको वातावरणविद् भूषण तुलाधरले बताए । इन्धन गाडीलाई सञ्चालन रोक, विद्युतीय गाडी, साइकलको प्रयोगदेखि उद्योग कलकारखानालाई बन्द गर्नेसम्मको व्यवस्था गरिसकेको छ ।

हालसम्म काठमाडौं उपत्यकामा वातावरण विभागअन्तर्गत सात र अमेरिकी दूतावासले दुई स्थानमा गरी नौ स्थानमा वायुप्रदूषण गुणस्तरमापन केन्द्र राखेर नियमित रूपमा वायुको गुणस्तर मापन गर्दै आएको छ ।

राष्ट्रिय नेटवर्क बनाएर वायु गुणस्तरको अवस्थालाई जाँच गरी प्रदूषण न्यूनीकरण गर्ने लक्ष्य रहेको वातावरण विभागको छ । यसका लागि ५६ स्थानमा केन्द्र राख्नेछ । तराई क्षेत्रमा वायुप्रदूषणको दर बढेको तथ्यांक सार्वजनिक भएपछि वातावरण विभागले यसै वर्ष चार स्थानमा वायुप्रदूषण गुणस्तरमापन केन्द्र राख्ने तयारी थालेको छ ।-आजको अन्नपूर्ण पोष्टबाट