काठमाडौं-तत्कालीन सरकारले ९ मसिर ०६७ मा कलंकी र गोंगबुमा आकाशे पुल निर्माणको स्वीकृति दियो । तर, दुवै पुलले एक दशक पनि आयु पाएनन् । १३ करोड खर्च भएको कलंकीको पुलले पाँच वर्षमै भत्किनुपर्‍यो । साढे सात करोडमा निर्मित गोंगबुको आकाशे पुल पनि ६ वर्षमै भत्किँदैछ ।


ADVERTISEMENT


करिब २७ दशमलव दुई किलोमिटर लम्बाइको चक्रपथ चीनको सहयोगमा आठ लेनमा विस्तार हुँदैछ । कलंकी पुल यसअघि नै भत्किइसकेको छ भने गोंगबुको ओभरहेड ब्रिज पनि सडक विस्तारका लागि भत्काइन लागेको हो । ‘चक्रपथ विस्तारका सबै अवरोध हटाउँदैछौं,’ सडक विभागको वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठ भन्छन्, ‘विद्युतका पोलसँगै नयाँ आकाशेपुल पनि भत्काउनुपर्ने भएको छ ।’


ADVERTISEMENT

# # #


दुवै आकाशे पुल सचिवस्तरीय निर्णयबाट निर्माण भएका थिए । यसले देखाउँछ, सरकारका उच्च अधिकारीहरुसँग एक दशकको पनि दीर्घकालीन योजना छैन । मानौं, कुनै संरचना निर्माण हुनु र भत्किनु नियमित आकस्मिकता हो । काठमाडौं महानगरपालिकाले सार्वजनिक-निजी साझेदारी मोडेलमा दुवै पुल निर्माण गर्न इनोभेटिभ प्रालीलाई जिम्मा दिएको थियो । इनोभेटिभले १८ वर्ष सञ्चालन गर्न पाउने महानगरको निर्णयअनुसार दुवै पुल निर्माण गरेको थियो ।

दुवै आकाशेपुल निर्माणबाट लागतसमेत उठ्न नसकेको इनोभेटिभका प्रमुख मनोज भेटवाल बताउँछन् । भन्छन्, ‘सञ्चालनको जिम्मा पाएको समयसम्म त चलाउन पाइएन, अहिलेसम्मको आम्दानीले बैंकको ब्याजसमेत तिर्न पुग्दैन ।’ गुरुयोजना अभावमा काठमाडौंका सडकमा निर्मित संरचना केही वर्ष नबित्दै भत्काउनुपर्ने स्थिति देखिने गरेको पूर्वाधार विज्ञ सूर्यराज आचार्य बताउँछन् । कुन स्थानमा के संरचना बनाउने भनेर सरकारले २५ वर्षे गुरुयोजना तयार पार्नुपर्ने उनको सुझाव छ ।

‘अनि मात्रै यस्ता संरचना भत्किनबाट रोकिन्छन्,’ आचार्य भन्छन्, ‘गुरुयोजना नै नहुँदा अनुमति दिएका निकायले रोक्न मिल्ने अवस्था छैन ।’ विज्ञहरुको भनाइमा कलंकी र गोंगबुमा कम खर्चमा र खोलेर अन्य स्थानमा सार्न मिल्ने गरी आकाशेपुल निर्माण गरेको भए सरकारी ढुकुटी र सञ्चालन अनुमति पाएको कम्पनीले घाटा बेहोर्नुपर्ने थिएन ।

तर, दुवै स्थानमा कंक्रिटका संरचना ठड्याइयो । तिनमा पसल कबलहरु राखेर भाडा उठाउने गरी अनावश्यक खर्च गरियो । संसदको विकास समितिलगायत निकायले पनि त्यतिबेला तत्काल चक्रपथमा आकाशेपुल निर्माण नगर्न निर्देशन दिएका थिए । तर, महानगरले जबर्जस्ती आकाशेपुल निर्माण गरिछाड्यो । र, यसमा करोडौं सम्पति नोक्सान भयो ।

कलंकीको आकाशेपुलमा २० भन्दा बढी पसल कबल थिए । गोंगबुमा पनि १५ भन्दा बढी पसल कबल छन् । तथापि, रिङरोड विस्तार गर्नैपर्ने भएकाले यी दुईवटा आकाशे पुलकै कारण रिङरोड विस्तार रोकेर राख्नु उपयुक्त देखिँदैन ।