काठमाडौं-निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको सिटको बाँडफाँड आज गर्ने भएको छ । बुधबार राष्ट्रियसभाको चुनाव सकिएसँगै आयोगले समानुपातिकतर्फको १ सय १० सिट बाँडफाँड गरेर दलहरुलाई पत्र पठाउन लागेको निर्वाचन आयोगले जनाएको छ ।


ADVERTISEMENT


बुधबार राष्ट्रियसभा चुनाव सम्पन्न भएर नतिजा आइसकेकाले प्रतिनिधिसभा चुनावमा समानुपातिक तर्फ दलहरुले प्राप्त गरेको सिट संख्या सार्वजनिक गर्न आयोगले दलहरुलाई पत्राचार गर्न लागेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।


ADVERTISEMENT

# # #


आयोगले यसअघि समानुपातिक निर्वाचन निर्देशिका संशोधन गरी दलहरूले तीन दिनमा नाम सिफारिस गर्नुपर्ने र बिग्रिएमा दुई दिनमा सच्याउनुपर्ने प्रावधान गरेको थियो । प्रतिनिधिसभाको मत गणना मंसिरको अन्तिम हप्ता नै सकिए पनि संघीय संसदमा महिलाको प्रतिनिधित्व कम्तिमा ३३ प्रतिशत हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण आयोगले अहिलेसम्म समानुपातिकको सिट निर्धारण गरेको थिएन ।

बुधबार सम्पन्न भएको राष्ट्रियसभा चुनावमा एमालेबाट ११ महिलासहित २७, कांग्रेसबाट ६ जना महिलासहित १३ जना, माओवादी केन्द्रबाट ३ महिलासहित १२ जना, संघीय समाजावादी फोरमबाट एक महिलासहित दुईजना र राजपाबाट दुईजना निर्वाचित भएका छन् ।

प्रतिनिधिसभाको समानुपातिकको १ सय १० सिटमा एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७ र फोरम तथा राजपाले ६र६ सिट पाउनेछन् । दलहरुले संघीय संसदमा पाएको सिट संख्याका आधारमा कम्तिमा ३३ प्रतिशत महिला हुने गरी आयोगले दलहरुलाई पत्र पठाउन लागेको हो ।

प्रतिनिधिसभा सदस्यको सबै निर्वाचन परिणाम फागुनको पहिलो हप्ताभित्रै राष्ट्रपति समक्ष पेश गर्ने पनि आयोग बताएको छ ।