गण्डकी – पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम पारेपछि मह सिकारी अक्करे भिरतिर उकालो लाग्छन् । भिरको टुप्पोमा पुगेपछि सुरु हुन्छ भिरमौरीको मह सिकार ।


ADVERTISEMENT


सिकारीहरु पहिले पितृ र प्रकृतिलाई पुकार्छन् । सिकारका बेला कुनै अप्रिय घटना नहोस् भनेर कामना गर्छन् । सिकारमा १५ देखि २० जनासम्मको सूमह हुन्छ । टोली नेताले सिकारको नेतृत्व सम्हाल्छन् । मुख्य सिकारीलाई ‘भिरौटे’ भनिन्छ । जो पराङमा झुण्डिएर मह काढ्न भिर छिचोल्छन् । ज्यानकै बाजी उठाएर मह काढ्छन् ।


ADVERTISEMENT

# # #


पहाडी भेगका भिमकाय भिर र पहरामा बर्सेनि गाउँलेहरु यसरी मह सिकारमा रमाउँछन् । पितापूर्खाको छाडेको सीपलाई पछ्याउँदै उनीहरुले मह सिकारको चलन धानिरहेका छन् ।

मङ्गलबारदेखि मह सिकारमा व्यस्त बागलुङको ताराखोला गाउँपालिका-५ का रतनबहादुर घर्तीले आफूले ३० वर्षदेखि भिरमौरीको मह काढ्दै आएको बताए । ‘हाम्रा बाउबाजेले सिकाएको मह सिकारको ज्ञान र सीपलाई हामीले अँगालेका छौँ’, उनले भने, ‘ हरेक वर्ष ताराखोलामा मह सिकार हुँदै आएको छ ।’

घर्तीका अनुसार ताराखोला-५ को ठूलो भिर र माडो भिरमा धेरै मात्रामा भिरमौरी पाइन्छ । यस वर्ष ठूलो भिर सामुदायिक वन क्षेत्रमा आठ घार भिरमौरीबाट दुई सय ६० लिटर मह काढिएको उनले बताए ।

‘मङ्गलबारदेखि जुल्फे सामुदायिक वनमा पर्ने माडो भिरमा मह काढ्न सुरु गरिएको छ’, ५१ वर्षीय घर्तीले भने, ‘१४ घारको मह काढ्न अझ एक/दुई दिन लाग्न सक्छ ।’

ताराखोलाका अन्य भिरमा पनि एक/दुई घार मौरी रहेको उनले बताए । कुनै वर्षमा दुई याममा मह पाइने भए पनि प्रायः वर्षको एकपटक मात्र मह काढ्न मिल्ने घर्तीको भनाइ छ ।

मह सिकार जोखिमपूर्ण हुने हुँदा जो कसैले सजिलै महको सिकार गर्न नसक्ने जुल्फे सामुदायिक वन उपभोक्ता समूहका सचिव नारायण घर्तीले बताए । ‘मह सिकार साहसिक र उत्तिकै जोखिमपूर्ण पनि हुन्छ, आँट र कौशल भएकालाई मात्र सिकारमा पठाउने गरिन्छ’, उनले भने, ‘ पराङमा झुण्डिएर मह काढ्नुपर्छ, मौरीले आक्रमण गर्ने उस्तै डर हुन्छ ।’

मह सिकारका लागि चाहिने अधिकांश सामग्री लेकाली चोयाँबाट बनाउने गरिन्छ । चोयाँ र काठबाट बनेको पराङ (भर्‍याङ) मह सिकारका लागि चाहिने मुख्य सामग्री हो । त्यसकै सहायतामा सिकारीहरु भिरमा पुग्छन् । सुथरी (डोरी), चाका झिक्ने साज, मह राख्ने डाली पनि निगालोको चोयाँबाट बनाउने गरिएको सचिव घर्तीले बताए ।

‘पराङलाई रुख र रुख नभएको ठाउँमा ठूलो ढुङ्गामा बाँधेर भिरमा खसालिन्छ, त्यसबाटै सिकारी मौरीको घारनजिक पुग्छन्’, उनले भने, ‘निगालोको टुप्पोमा हँसिया बाँधेर साज बनाइन्छ, त्यसैले काटेर महको चाका घारबाट छुट्टाइन्छ र तलपट्टि डालीमा थापिन्छ ।’ मौरीको टोकाइबाट बच्न जाबोले मुहार छोप्ने गरिएको उनको भनाइ छ ।

मह निकालेपछि सिकारमा संलग्न र अरु सहभागीलाई बाँड्ने प्रचलन छ । धेरै मात्रामा मह निस्केमा बाहिर बिक्रीसमेत गर्ने गरिएको सचिव घर्तीले बताए । एक लिटर महलाई रु १५ सयसम्ममा बिक्री गर्ने गरिएको छ ।

‘संस्कृति र परम्पराका रुपमा घरगाउँमा भिरमहको सिकार हुँदै आए पनि अब यसलाई व्यावसायिक बनाउन जरुरी छ’, सचिव घर्तीले भने । ताराखोलाकै मपेसमा रहेको तीन घार भिरमौरीको मह पनि काढ्ने तयारी भइरहेको जनाइएको छ । ग्रामीण पर्यटन प्रवद्र्धनमा भिरमहलाई जोड्दै आएको गलकोट नगरपालिका-१० रमुवाको सरस्वती युवा क्लबले अहिले ‘मह सिकार महोत्सव’ कै आयोजना गरेको छ ।

वडा कार्यालयसँग मिलेर क्लबले बर्सेनि मह सिकारको कार्यक्रम आयोजना गर्दै आएको क्लबका अध्यक्ष उदिम घर्तीले बताए । पछिल्लो समय साहसिक मह सिकार पर्यटकीय आकर्षणसमेत बन्न थालेको उनको भनाइ छ । औषधिजन्य गुण र स्वास्थ्यवद्र्धक मानिने हुँदा उपभोक्ताले पनि खोजीखोजी भिर मह प्रयोग गर्छन् ।

मह सिकार हेर्न र महको स्वाद लिन पनि रमुवामा आगन्तुकको सङ्ख्या बढ्दै गएको अध्यक्ष घर्तीले बताउनुभयो । रमुवाका भिरमा प्रशस्त भिरमौरी पाइने गलकोट-१० का अध्यक्ष भक्तबहादर काउचाले बताए ।

गाउँलेले पुस्तौँदेखि मह सिकार गर्दै आएको उहाँको भनाइ छ । ‘अनुभवी सिकारीले रैथाने सीप र प्रविधिमार्फत मह सिकार गर्दै आएका छन् ‘ वडाध्यक्ष काउचाले भने, ‘पछिल्लो समय यसलाई उत्सवकै रुपमा लिन थालिएको छ ।’ महसिकारलाई साहसिक पर्यटनसँग जोड्नुपर्ने उनले बताए ।

ताराखोला, बडिगाड, गलकोटको रमुवालगायत बागलुङका अन्य ठाउँमा पनि मह सिकार हुँदै आएको छ । गलकोट नगरपालिका-४ निलुवामा पनि केही वर्षअघि ‘मह सिकार महोत्सव’ आयोजना गरिएको थियो ।

निलुवाको पाँच सय मिटर अग्लो भिरमा पनि रमुवाकै अनुभवी सिकारीले मह काढेका थिए। कास्कीको अन्नपूर्ण गाउँपालिका-७ लान्द्रुकस्थित कोटेसाङमा आउँदो जेठ ८ गतेदेखि १० गतेसम्म ‘मह सिकार महोत्सव’ आयोजना गरिएको छ ।

पर्यटन प्रवर्द्धनसँगै स्थानीय कला तथा संस्कृतिको संरक्षण हेतु उक्त महोत्सव गर्न लागिएको वडाध्यक्ष भरतमान गुरुङले बताए ।