अर्घाखाँची– अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–३ रातामाटाकी बसन्ता मल्ल आइतबार घरको खरानी सोहोर्दै थिइन् । शनिबार लागेको आगोले उनको घरसहित अन्नपात र लत्ताकपडा खरानी बनाएपछि उनीलगायत टोलका १६ परिवारको बिचल्ली भएको छ ।


ADVERTISEMENT


‘घर एक्कैछिनमा खरानी भयो । गाँसबासको टुङ्गो छैन । कहाँ बस्ने कहाँ खाने’, आँशु झार्दै मल्लले भनिन् ।


ADVERTISEMENT

# # #


स्थानीय गङ्गाबहादुर विकको पनि मल्लको जस्तै पीडा छ । ‘घरमा रहेको गरगहना, अन्न कपडा, लालपुर्जा, नागरिकता सबै जलेर नष्ट भयो’, उनले भने, ‘घरमा रहेका कुनै पनि वस्तु बचाउन सकिएन ।’

बसन्ता र गङ्गाबहादुर मात्र हैन धारापानीमा शनिबार आगलागीमा परेर घर जलेका १३ परिवार अहिले खुला आकाशमुनि बस्न बाध्य छन् । आगोले भूमिकास्थान नगरपालिका धारापानीको रातामाटा, जाबुनडाँडा, बाजाखर्क, फलामखिल्जीलगायत गाउँमा आगोले १६ घर र १० गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दीपेन्द्र रावलले जानकारी दिए । बस्तीमा पसेको आगो निभाइए पनि वनमा अझै पूर्ण रूपमा निभाउन सकिएको छैन ।

प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले गाउँमै गएर डढेलोले घर गुमाएका परिवारलाई खाद्यान्न सामग्री वितरण गरेका छन् । आगलागीबाट घर नष्ट भएका रातामाटा क्षेत्रका १६ परिवारलाई जिल्ला प्रशासन कार्यालयको पहलमा उद्योग वाणिज्य सङ्घले खाद्यान्न सामग्री उपलब्ध गराएको हो । उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष प्रदीप मिश्रले चामल, दाल, तेल, नुनलगायत खाद्य सामग्री वितरण गरिएको बताए ।