वीरगञ्ज– पर्सा जिल्लामा पनि इस्लाम समुदायले ईद–उल–फित्र (ईद) सामाजिक सद्भाव कायम राख्दै मनाएका छन् । इस्लाम समुदायले पर्सामा रहेका ईदगाह तथा मस्जिदमा नमाज (प्रार्थना) गर्दै पर्व मनाएका हुन् ।


ADVERTISEMENT


वीरगञ्ज महानगरपालिका–२ स्थित ईदगाहचोकमा हजारौँ सङ्ख्यामा रहेका मुस्लिम समुदायले एकापसमा खुसी साटासाट गरेर ईद मनाएका छन् । वीरगञ्जका अन्य समुदायका धर्मावलम्बीले पनि एकापसमा शुभकामना आदानप्रदान गरेका छन् ।


ADVERTISEMENT

# # #


वीरगञ्ज–२ छपकैयाँका शाहिद मियाँ सिद्धिकीले चाडपर्वलाई सामाजिक सद्भाव कायम गर्ने माध्यमका रूपमा अघि बढाउनुपर्ने बताए।

दुवै समुदायबीच शुभकामना साटासाट गर्दै आइरहेको सिद्धिकीको भनाइ छ । जुनसुकै चाडपर्वलाई पनि आपसी भाइचारा र सामाजिक सद्भाव कायम गर्नेगरी अघि बढाउन जरुरी रहेकामा उनले जोड दिए ।

वीरगञ्जका मस्जिद तथा ईदगाहमा बालकदेखि ज्येष्ठ नागरिक उमेर समूहका मुस्लिम समुदायका मानिसको उपस्थिति थियो । साथै शारीरिकरूपमा अपाङ्ग तथा अशक्तहरू पनि नमाज गर्नका लागि ईदगाह तथा मस्जिदमा सहभागी भएका थिए ।

ईदका दिन मुस्लिम समुदायका बर्तालु बिहानै मस्जिद र ईदगाहमा पुगी सामूहिक नमाज पढेर आफू तथा आफ्नो परिवारको तर्फबाट भएको गल्तीको क्षमायाचना गर्दै अल्लाह (भगवान्)सँग आशीर्वाद लिने गर्दछन् ।

वीरगञ्जमा करिब तीस हजारको हाराहारीमा मुस्लिम समुदाय रहेको अनुमान गरिएको छ । वीरगञ्जमा ईदगाहचोक, छपकैया, मुली, नगवा, नयकाटोलालगायत स्थानमा पुगी नमाज पढेर दुवा अर्थात् आशीर्वाद मागेको दृश्य देखिन्थ्यो ।