कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले जनताले अपेक्षा गरेअनुसार परिवर्तनको महशुस हुने गरी काम गर्ने बताएका छन् । बुधबार पद बहालीपछि बोल्दै मुख्यमन्त्री कँडेलले बिलम्व नगरि सवै बिषयको जानकारी लिएर प्रदेश सरकारले काम गर्ने बताएका हुन् ।
साथै उनले सबैको सहयोग लिएर आफूले काम गर्ने प्रतिक्रिया दिए । ‘जे बाहिरबाट बुझिएको अवस्था छ, समय नलिइकन पहिले बुझ्ने काम हुन्छ । बुझ्नेका नाममा बिलम्ब गर्दिनँ म ।’ उनले भने, ‘त्यसपछि उक्त विषयसँग सरोकार राख्ने सबैसँग छलफल गरेर जनताले जे अपेक्षा गरेका छन्, परिवर्तनको महसुस हुने गरी त्यही अनुसार काम गर्नेछु ।’
प्रदेश प्रमुख तिलक परियारले कँडेललाई बुधबार नेपालको संविधानको धारा १७२ बमोजिम मुख्यमन्त्री कँडेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । नेकपा (एमाले)सहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)को समर्थनमा मङ्गलबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
उनी २०७९ सालमा सुर्खेत निर्वाचन क्षेत्र नं.२ प्रदेशसभा सदस्य निर्वाचन (क) बाट कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।