काठमाडौं-नगरको सुदूर दक्षिणी सीमास्थित जनकपुर उपमहानगरपालिका १२ हनुमाननगरवासी अचेल खुसी छन् । बिहान बेलुकाबाहेक सामान्यतया सुनसान हनुमानमन्दिर चोकमा अचेल दिनभरि चहलपहल देखिन्छ । कोही पसलका लागि जग्गा खोज्न आउँछन् त कोही किन्नै । शान्ति सुरक्षाको अवस्था निरीक्षण गर्न सुरक्षाकर्मीको चहलपहल त्यतिकै बढेको छ ।


ADVERTISEMENT


चोकमा दुई सातादेखिको चहलपहलबाट हनुमाननगरवासीमात्र होइन, नजिकका कुवा तथा रामपुरवासी पनि उत्साहित छन् । चोक नजिककै शैक्षिक तालिम केन्द्रमा प्रदेश मुख्यालय सञ्चालन हुने चर्चासँगै यस क्षेत्रमा चहलपहल पनि बढेको हो । गत १० वर्षदेखि पान पसल गर्दै आएका जनकपुर १२ हनुमाननगरका ६७ वर्षीय बेचन यादव भन्छन्, ‘जनकपुर नगरपालिकाले अहिलेसम्म बेवास्ता गर्‍यो तर प्रदेश मुख्यालय स्थापनासँगै हामी उत्साही छौं । अब यस इलाकाको पनि विकास हुन्छ ।’


ADVERTISEMENT

# # #


हनुमाननगर जनकपुर–जटही सडकको प्रस्थानविन्दु हो । भारतीय सीमा जोड्ने निर्माणाधीन ६ लेन सडक जोडिए पनि यस चोकको गतिविधि शून्यप्रायः थियो । ‘चोकमै पसल भए पनि स्थानीय चिया–पान गर्न जनकपुर बजार जाने गर्थे,’ पान पसले यादव भन्छन्, ‘अब जनकपुरका मानिस यहाँ आउँछन् ।’

यद्यपि ६ लेन सडक निर्माण सुरु भएसँगै हनुमाननगर, कुवा र रामपुरको जग्गा भाउ बढेको छ । प्रदेश मुख्यालय स्थापनाको हल्लापछि यस क्षेत्रको जग्गाको मूल्य आकाशिएको छ । स्थानीय राजेन्द्र दासले भने, ‘अब महँगो दाममा पनि जग्गा पाउन गाह्रो भयो । जग्गा प्लटिङ गरेर बिक्री गर्ने योजना बनाउन थालेका छन् ।’

कांग्रेस नगर कमिटी सभापति तथा स्थानीय मनोजकुमार साह एक वर्षभित्र गाउँको जग्गाको मूल्य सय प्रतिशत बढेको दाबी गर्छन् । उनले भने, ‘एक वर्षअघि २ लाख धुरमा बिक्री हुने जग्गा अचेल ५ लाखमा पाउनै गाह्रो भयो ।’ प्रदेश मुख्यालयका रूपमा प्रयोग गरिने साबिकको शैक्षिक तालिम केन्द्र भवन निर्माणका लागि हनुमाननगरस्थित मन्दिर गुठीले तीन बिघा जग्गा उपलब्ध गराएको थियो ।

कांग्रेस नगर सभापति मनोजकुमार साह केन्द्र वरिपरिका १० बिघा अधिक जग्गा गुठी मातहतको हनुमान मन्दिरको स्वामित्वमा रहेको बताउँछन् । गुठी स्वामित्वको जग्गामा निजी पूर्वाधार निर्माण गर्न कठिन हुने साहको कथन छ तर स्थानीय यस खाली जग्गामा प्रदेश मुख्यालयको स्थायी संरचना निर्माण हुनुपर्ने माग गरेका छन् ।

‘प्रदेश मुख्यालय यहीं रहने हो कि बाहिर जाने ? स्थानीय दुविधामै छन्,’ स्थानीय जयनाथ साहले भने, ‘स्थायी मुख्यालय बनाउँदा यस इलाकाको विकास निश्चित छ ।’ यता आउँदो आइतबारदेखि सुरु हुने प्रदेशसभा बैठकको तयारीमा रहेको सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजनल कार्यालय जनकपुरका इन्जिनियर महेश साह आफूहरूले स्थायी प्रवृत्तिको संरचना निर्माण गरेको बताउँछन् ।

प्रदेशसभाको पहिलो बैठक आइतबार बिहान ११ देखि सुरु हुने भनिए पनि आफूहरू शनिबार बिहानसम्म सभाहलको निर्माण गरिसक्ने साहको दावी छ । भवन मर्मत, रंगरोगन, शौचालय, बिजुली, साउन्ड, लाइट आदिको जडान अन्तिम चरणमा छ । इन्जिनियर साहका अनुसार यस कामका लागि सयभन्दा बढी दक्ष तथा अदक्ष कामदार लागेका छन् ।