काठमाडौँ – नेपालले आयरल्याण्डको ‘ए’ टोलीविरुद्ध टी–२० क्रिकेट सिरिजको दोस्रो खेलमा पनि जित हात पारेको छ । नेपालले मंगलबार आयरल्याण्ड ‘ए’लाई ७१ रनले हराएको हो ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनायो । १९९ रनको विशाल चुनौती पच्छ्याउँदै ब्याटिङ गरेको आयरल्याण्ड ‘ए’ १८.३ ओभरका सबै विकेट गुमाउँदै १२७ रनमै समेटिएको हो ।


ADVERTISEMENT

# # #


आयरल्याण्ड ‘ए’ का लागि स्टेफेन दोहेनीले सर्वाधिक २६ रन बनाए भने मोरगं टापिंगले २१ तथा क्याड कार्मिकलले १८ र रस अडायरले १७ रन बनाएर आउट भए । आयरल्याण्डलाई सस्तैमा समेट्नेक्रममा नेपालका सोमपाल कामी र कुशल मल्लले शानदार बलिङ गरे । सोमपालले २.३ ओभरमा १७ रन खर्चिएर ३ तथा कुशलले ३ ओभरमा १५ रन खर्चिएर समान ३ विकेट लिए । यस्तै कुशल भुर्तेल, करण केसी र विवेक यादवका नाममा समान १–१ विकेट रह्यो ।

यसअघि नेपालका लागि गुल्सन झाले सर्वाधिक ४६ रन जोडे । उनले ३२ बलमा १ चौका र ४ छक्का प्रार गरे। यस्तै कुशल मल्लले १३ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ३४ तथा कप्तान रोहित पौडेलले २४ बलमा ५ चौकासहित ३४ रन बनाए ।

कुशल भुर्तेलले २५ रन बनाउँदा सन्दीप जोरा २१ रनमा आउट भए भने अनिल शाह र आशिफ शेखले क्रमशः १२ र ११ रन जोडे । आयरल्याण्डका लागि म्याथ्यू फोस्टरले ३ विकेट लिए भने बेन ह्वाइटले २ तथा ग्याबिन होय र फियोन ह्याण्डले समान १–१ विकेट हात पारे ।

नेपालले मंगलबार पहिलो खेलमा आयरल्याण्डलाई ६ विकेटले हराएको थियो ।