म्याग्दी– म्याग्दीको दानादेखि पर्वतको खुर्कोटसम्म विद्युत् प्रशारण लाइन जोड्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी प्रशारण लाइन कोरिडोर आयोजना अन्तर्गत अन्नपूर्ण गाउँपालिकाको दानादेखि कुश्मा नगरपालिकाको खुर्कोटसम्म २२० केभी क्षमताको प्रशारण लाइन जोड्न लागिएको होे ।


ADVERTISEMENT


आयोजनाका इन्जिनियर यादव न्यौपानेले म्याग्दीको पिप्लेबाट प्रशारण लाइन जोड्न लागिएको उल्लेख गर्दै पहिलो चरणमा जग्गा प्राप्तिका लागि सहमति पाएको १२ ठाउँमा टावर निर्माणको काम सुरु भएको बताए ।


ADVERTISEMENT

# # #


टावर राख्नका लागि अन्य ठाउँमा नक्साङ्कन गरिएको जग्गा अधिग्रहणको प्रक्रिया सुरु भएको छ । म्याग्दीको दाना, भुरुङ तातोपानी, दोवा, हिस्तान, बेग, भगवती, पिप्ले, पर्वतको बाँसखर्क, माझफाँट, धाइरिङ, नाग्लीवाङ हुँदै खुर्कोटसम्मको ३८दशमलव ८५ किलोमिटर दुरीमा प्रशारण लाइनको १११ वटा टावर निर्माण हुने भएको छ ।

भौगोलिक अवस्था अनुसार २४ देखि ४३ मिटर अग्लो टावर रहनेछन् । म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत केन्द्रीयप्रशारण लाइनमा जोड्ने उद्देश्यले प्राधिकरणले दाना र खुर्कोटमा यसअघि नै २२० केभी क्षमताको सवस्टेसनको निर्माण सुरु गरिसकेको छ ।
सवस्टेसन निर्माणस्थलमा जग खन्ने काम भइरहेको इन्जिनियर न्यौपानेले जानकारी दिए । सवस्टेसन र प्रशारण लाइन निर्माणका लागि सम्झौता गरेको टाटा प्रोजेक्ट एन्ड चिन्ट इलेक्ट्रिकले तीव्रताका साथ काम अघि बढाएको छ ।

दुई अर्ब ९० करोड रुपैयाँमा सम्झौता भएको आयोजना विसं २०७५ साउनभित्र सम्पन्न गर्ने लक्ष्य छ । मुस्ताङको टुक्चेमा १४ मेगावाट क्षमताको थापाखोला, म्याग्दीको नारच्याङमा पाँच मेगावाटको घलेम्दीखोला, ४२ मेगावाटको मिस्त्रीखोला आयोजना निर्माणाधिन अवस्थामा छन् भने ४० मेगावाटको राहुघाटलगायत दर्जनौँ आयोजना निर्माणको चरणमा छन् ।

नवलपरासीको बर्दघाटदेखि म्याग्दीको दानासम्मको १४२ किलोमिटर प्रशारण लाइन निर्माण गर्ने लक्ष्यअनुसार कुश्मादेखि बर्दघाटतर्फ पनि सर्वेक्षणको काम सकिएको छ ।