काठमाडौँ– सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्र उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानीमा रिहा भएका छन् ।


ADVERTISEMENT


महरालाई उनका छोरा निर्मल महराको जिम्मामा हाजिरी जमानीमा छाडिएको प्रहरीले जनाएको छ । सीआईबी र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको टोलीले पूर्वसभामुख महराको बयान सकिएपछि उनलाई हाजिरी जमानीमा रिहा गर्न सहमति दिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले जानकारी दिए ।


ADVERTISEMENT

# # #


काठमाडौं अदालतले दिएको चार दिनको म्यादभित्र बयान सकिएको र महराको स्वास्थ्य अवस्था कमजोर रहेको अवस्थामा हालमा थुनामा राख्नुभन्दा पनि हाजिरी जमानीमा छाड्न सीआईबीले पत्र लेखेको र सरकारी वकिल कार्यालयले पनि हाजिरी जमानीमा छोड्नका लागि सहमति दिएको उनले बताए ।

महरालाई गत सोमबार कपिलवस्तुबाट नेपाल प्रहरीले पक्राउ गरी काठमाडौँ ल्याएको थियो । महरालाई जिल्ला अदालत काठमाडौँबाट चार दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको थियो ।

सुनको अवैध तस्करी एवम् नियन्त्रणसम्बन्धमा जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वमा गठित आयोगले महराविरुद्ध मुद्दा चलाउनुपर्ने सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा ब्यूरोले महरालाई पक्राउ गरेको थियो ।