काठमाडौँ– राष्ट्रियसभा अध्यक्ष पदमा नारायण दाहाल निर्वाचित भएका छन् ।


ADVERTISEMENT


मंगलबार राष्ट्रियसभा बैठकमा भएको मतविभाजनबाट सत्ता गठबन्धनतर्फका उम्मेदवार दाहाल निर्वाचित भएका हुन् । दाहाललाई राष्ट्रियसभा अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा ३९ मत परेको थियो भने उनको विपक्षमा १७ मत परेको थियो ।


ADVERTISEMENT

# # #


दाहाललाई माओवादीको १७, एमालेको १०, एकीकृत समाजवादीको ८ र जसपाको ३ मतका साथै वामदेव गौतमको एक मत प्राप्त भएको छ भने कांग्रेसका १६ र लोकतान्त्रिक समाजवादी पार्टीका १ सदस्यले विपक्षमा मत दिएका थिए ।

बैठकमा राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले दाहालको पक्षमा परेको मत सभाको बहुमत भएकाले नारायण दाहाल निर्वाचित भएको घोषणा गरे । साथै उनले राष्ट्रियसभा अध्यक्ष पदमा निर्वाचित भएकोमा दाहालप्रति बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

त्यसअघि कांग्रेसका उम्मेदवार युवराज शर्मालाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथि भएको मतविभाजनका क्रममा शर्माको पक्षमा १७ मत र बिपक्षमा ३९ मत प्राप्त भएकाले उक्त प्रस्ताव अस्वीकृत भएको उपाध्यक्ष अर्यालले घोषणा गरे ।

निर्वाचित दाहाल राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनित सांसद छन् । राष्ट्रियसभाको अर्को बैठक फागुन ३० गते बोलाइएको छ ।