काठमाडौं-चितवनको घुमाउनेबाट तनहुँको दमौली जोड्ने पक्की पुल निर्माणको काम शुरु भएको छ । १०५ मिटर लामो पक्की पुल त्रिशुली नदी माथि बन्ने भएको हो ।


ADVERTISEMENT


नारायणगढ–मुग्लिन सडकखण्डको बीच भागमा घुमाउने भन्ने ठाउँ पर्दछ । यहाँबाट वुद्धसिंह मार्ग हुँदै दमौली जाँदा सडक २५ किलोमिटर छोटो हुनेछ । यो पुल बनेपछि तनहुँको सदरमुकाम दमौली, पोखरा, बाग्लुङ, पर्वत जानका लागि नत मुग्लिन नै पुग्नपर्दछ नत डुम्रे बजार नै ।


ADVERTISEMENT

# # #


९ करोडको लगानीमा आगामी ४ वर्षभित्र पुल बनाइसक्ने गरी हेटौंडाको मृत सञ्जीवनी निर्माण कम्पनीलाई ठेक्का दिइएको सडक डिभिजन कार्यालय तनहुँका इन्जिनियर गौतम श्रेष्ठले जानकारी दिए । माघे संक्रान्ति अघिबाट पुल निर्माणको काम थालिएको इन्जिनियर श्रेष्ठले बताए ।

पुल फुटपाथसहित ११ मिटर चौडाइको हुने छ । डबल लेनको पुलमा ७.५ मिटर गाडी हिँड्ने भाग रहने इन्जिनियर श्रेष्ठले बताए । यो पुल अत्याधुनिक प्रविधिको आर्क डिजाइनमा बनाइने छ । अहिले पनि तनहुँको दमौलीबाट घुमाउने घाटसम्म नियमित रुपमा साना बसहरु आउने–जाने गरेका छन् । तर पुल नहुँदा ती बसहरु नारायणगढ–मुग्लिन सडकखण्डसम्म आउन सक्दैनन् ।

तनहुँको सदरमुकाम दमौलीदेखि घुमाउनेसम्म जम्मा ३२ किलोमिटर छ । सेती नदीको किनारैकिनार घँमाउनेघाट, सराङघाट, मासीघाट, सुँढे, बेलबास हुँदै दमौली पुग्न सकिन्छ । यसलाई बुद्धसिंह मार्ग भनिन्छ । सामान्य ग्राभेल अवस्थामा रहेको यस मार्गको स्तरोन्नतीको काम भैरहेको छ ।