काठमाडौं(रासस/सिन्ह्वा)-भारतको पश्चिमी राज्य वेस्ट बङ्गालमा सोमबार भएको बस दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ४५ पुगेको छ । प्रान्तीय राजधानी कोलकताबाट २२० किलोमिटर टाढा रहेको मुर्सिदाबाद जिल्लामा अवस्थित पुरानो पुल पारगर्ने क्रममा उक्त बस नदीमा खसेको थियो ।


ADVERTISEMENT


यस दुर्घटनामा परी सोमबार नै कम्तीमा ३५ जनाको मृत्यु भएको थियो । दुर्घटनाग्रस्त बसमा रहेका थप १० को शव नदीबाट निकालिएपछि मङ्गलबार सो सङ्ख्या ४५ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । बसमा करिब ५० यात्रु सवार रहेका र जालाङगी नदीमा बनाइएको एउटा पुरानो पुलको बारमा ठोक्किएपछि चालकले नियन्त्रण गुमाई बस नदीमा खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो


ADVERTISEMENT

# # #


चालकले अर्को सवारी साधनसँग ठोक्किनबाट बचाउन खोज्दा अकस्मात नियन्त्रण गुमाएर बस पुलको बारमा ठोक्किएर तल खसेको थियो । यस दुर्घटनामा परी महिला र बालबालिकासहित ४५ को मृत्यु भएको छ । भारतीय राष्ट्रपति रामनाथ कोभिन्द, प्रधानमन्त्री नरेन्द्र मोदी र सो राज्यका मुख्यमन्त्री ममता बनर्जीले मृतकको परिवारप्रति समवेदना व्यक्त गरेका छन् । भारतीय सरकारले मृतकका प्रत्येक परिवारलाई ५० हजार भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ ।

भारत विश्वको तुलनामा बढी सडक दुर्घटना हुने देशमा पर्दछ । मर्मत नगरिएको सडक, चालकको लापरबाही र ट्राफिक नियमको उल्लङ्घन भारतमा सडक दुर्घटनाको प्रमुख कारण हुने गरेको अधिकारीहरु बताउँछन् ।