काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकमा धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दु धर्मको पक्षमा पूरक प्रस्ताव पेश भएको छ ।


ADVERTISEMENT


शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा २२ जनाको सामूहिक प्रस्ताव पेश गर्दै केन्द्रीय सदस्य शंकर भण्डारीले महासमिति बैठकको एजेण्डामा धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दुधर्मको विषयलाई समावेश गर्नुपर्ने माग गरेका हुन् ।


ADVERTISEMENT

# # #


महासमितिको वैठकबाट छलफल गरेर सनातन हिन्दुराष्ट्रको पक्षमा पार्टी दृढतापूर्वक उभिन पुरक प्रस्तावको रूपमा वैदिक सनातन हिन्दूधर्मको पक्षमा प्रस्ताव पेश गरिएको केन्द्रीय सदस्य भण्डारीले जानकारी दिए । उनले संविधानमा नै धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दुधर्मको विषयका लागि संशोधन गर्न सकिने दाबी गरे । यस विषयमा यसअघि नै पार्टी नेतृत्वलाई पटक पटक सुझाव दिएपनि वेवास्ता गरिएको उनले बताए । उनले कांग्रेसले यसलाई वेवास्ता गरे भविष्यमा ठूलो क्षति हुने जिकिर गरे ।

त्यस्तै अर्का पुरक प्रस्तावकर्ता केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले सनातन हिन्दुधर्मको विषयमा महासमितिबाट पार्टीको प्रष्ट धारणा आउनुपर्ने बताए । जनआन्दोलनका क्रममा धर्म निरपेक्षको कुरा नउठ्दा सदनबाट पारित भएपनि अब भने त्यसलाई संशोधन गर्नुपर्ने उनले बताए । उनले विश्वको एकमात्र हिन्दुराष्टको पहिचानका रुपमा नेपाललाई अघि बढाउनुपर्ने धारण राखे ।

केन्द्रीय कार्य समितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्काको नीति प्रस्ताव र महामन्त्री द्वय गगनकुमार थापा र विश्व प्रकाश शर्माको साङ्गठनिक र राजनीतिक प्रतिवेदनमाथि छलफल भएको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए । बैठकमा प्रस्तावमा सुशासन र भ्रष्टाचार अन्त्यको विषयलाई प्राथमिकतामा राखेपनि कार्ययोजनाका बारेमा प्रस्ताव प्रष्ट नरहेको उउनले बताए । उनले कार्ययोजनाका साथ सुशासन र भ्रष्टाचार अन्त्यको प्रस्ताव आउनुपर्नेमा जोड दिए ।

बैठकमा प्रस्ताव प्रतिवेदन केन्द्रीय समितिले पारित गरेपछि महासमिति बैठकमा पेश हुनेछ । महासमिति बैठक फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा बस्दैछ ।