काठमाडौं-नियमित रुपमा कलेज वा विश्वविद्यालयको कक्षामा जान नसक्नेले अब घरमै अध्ययन गरेर पिएचडीसम्मको डिग्री लिन पाउने भएका छन् । पहिलोपटक स्थापना भएको नेपाल खुला विश्वविद्यालयले अब प्रविधिको प्रयोग गरी डिप्लोमादेखि पिएचडिसम्मको डिग्री दिने भएको हो ।


ADVERTISEMENT


खुला विश्वविद्यालयको सोमबार बसेको प्राज्ञिक परिषद बैठकले डिप्लोमा, पोस्टग्राजुयट डिप्लोमा, मास्टर्स, एमफिल र पिएचडीसम्मका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । प्राज्ञिक परिषदका सदस्य एवं शिक्षाविद प्राडा मनप्रसाद वाग्लेले खुला विश्वविद्यालयले सञ्चालन गर्ने कार्यक्रम परिषदबाट निर्णय भएको र २४ माघमा बस्ने सभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने बताए ।


ADVERTISEMENT

# # #


विश्वविद्यालयका कुलसचिव (रजिस्ट्रार) कमल ढकालका अनुसार केही कार्यक्रम यही आर्थिक वर्षमै सुरु गर्ने तयारी भएको छ । पाठ्यक्रमका केही ‘फ्रेम वर्क’ तयार भएका छन् ।

तीनवटा संकाय सञ्चालन हुने
नेपाल खुला विश्वविद्यालयमा तीनवटा संकाय स्थापना हुने भएका छन् । व्यवस्थापन र कानुन संकाय, सामाजिकशास्त्र र शिक्षा संकाय स्थापन हुने भएका छन् । यस्ता संकायबाट साधारण विषयदेखि इन्जिनियरिङ सम्मका विषय दूरशिक्षाबाट पढ्न पाइने भएको छ । त्यसैगरी विज्ञान, स्वास्थ्य र प्रविधि संकाय स्थापना हुँदै छ । यो संकायमा प्राविधिक तथा व्यावसायिक सीपदेखि ‘पियोर साइन्स’का विषय पनि अध्ययनको व्यवस्था हुनेछ । इन्जिनियरिङका पनि धेरै विषय अध्ययन गर्न पाउने कुलसचिव ढकालले बताए ।-आजको नयाँ पत्रिकाबाट