भक्तपुर – भूकम्पले क्षतिग्रस्त भक्तपुरको ५५ झ्याले दरबारसँगै जोडिएको मल्लकालीन थन्थु दरबारलाई भक्तपुर नगरपालिकाले आफ्नै लगानीमा मल्लकालीन शैलीमा पुनर्निर्माण गर्ने भएको छ ।


ADVERTISEMENT


भक्तपुर नगरपालिकाले लामो समय कार्यालयका रूपमा प्रयोग गरेकोे थन्थु दरबार पुनर्निर्माण बहुवर्षीय योजनाका रूपमा अगाडि बढाइएको हो । पुरातत्त्व विभागबाट स्वीकृति पाएपछि पुरातत्त्व विभागसँग समन्वयमा पुरानो भवन भत्काएर मल्लकालीन शैलीमै पुनर्निर्माण सुरु गरिएको हो ।


ADVERTISEMENT

# # #


नगरपालिकाले भूकम्पबाट क्षतिग्रस्त सम्पदा पुनर्निर्माण आफैले बेहोर्ने बताउँदै आएको छ । साथै आफ्नै उपभोक्ता समिति एवं कालिगढबाट सम्पदा पुनर्निर्माण एवं जीर्णोद्धार गर्ने नगरपालिकाले अडान लिँदै आएको थियो । नगरप्रमुख प्रजापतिले भने, “थन्थु दरबारलाई मौलिक शैलीमा माटो जोडाइबाट पुनर्निर्माण गरिने भएको छ । दरबार भवन पुनर्निर्माण प्राविधिक समितिले पेस गरेको संशोधित नक्साअनुसार पुरातत्त्व विभागसँग समन्वय गरी अगाडि बढाएका छौँ ।”

स्मारक संरक्षण तथा दरबार हेरचाह केन्द्र भक्तपुरका प्रमुख अरूणा नकर्मीले थन्थु दरबारको पुनर्निर्माण मौलिक शैलीबाट हुनु प्रशंसनीय भएको बताइन् । इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठले भक्तपुर दरबार क्षेत्रमा अवस्थित ५५ झ्याले दरबार थन्थु दरबारकै भागका रूपमा देखिएको बताउँदै दरबार पुनर्निर्माण माटो जोडाइको शैलीबाट हुनु स्वागतयोग्य कदम भएको बताए ।

पुरातत्त्व विभागका महानिर्देशक शौभाग्य प्रधानाङ्ग, प्रमुख पुरातत्त्व अधिकृत रामबहादुर कुँवर, वरिष्ठ पुरातत्त्वविद् कोष आचार्य, स्मारक संरक्षण एवं दरबार हेरचाह अड्डा भक्तपुरका प्रमुख अरुणा नकर्मी र दुर्हाम विश्वविद्यालयका प्रा रोविन कनिङघमसहितको टोलीले थन्थु दरबार पुनर्निर्माण क्षेत्रको यसअघि स्थलगत निरीक्षण गरेका थिए । रासस