काठमाडौँ –  वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले ‘मेरो एउटा सानो त्याग, मायालुको लागि ठूलो उपहार’ भन्ने नाराका साथ धूम्रपान सेवनलाई निरुत्साहित गर्न चेतनामूलक अभियानको थालनी गरेका छन् । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा गरिने वसन्त पञ्चमी र प्रणय दिवस यस वर्ष फागुन २ गते परेको सन्दर्भ पारेर उक्त दिन ज्ञान र प्रेमलाई मिश्रण गर्दै धूम्रपान सेवनमुक्त समाज निर्माणका लागि अवसरका रूपमा उपयोग गरिएको डा। अनिलले बताए ।


ADVERTISEMENT


कुनै विशेष अवसरमा मानिसले केही चिज त्याग गर्‍यो भने त्यो सफल हुने सम्भावना बढी हुन्छ । साथै अविस्मरणीय र महत्त्वपूर्ण पनि हुने भएकाले त्यस दिनदेखि धूम्रपान र सुर्ती सेवनको लतलाई त्याग गर्न आफ्ना शुभेच्छुकहरूलाई उनले आह्वान गरेका छन् ।


ADVERTISEMENT

# # #


“प्रणय दिवस’का अवसरमा तपाई फूल दिनुस्, कुनै भौतिक उपहार दिनुस् । त्यसको साथसाथै आफू र आफ्नो परिवारजनको दीर्घजीवनका लागि लत त्याग्नु सबैभन्दा मूल्यवान उपहार हो”, डा। अनिलले भने,“यदि तपाईँ आफूलाई भन्दा बढी माया उनीहरूलाई गर्नु हुन्छ भने दीर्घ जीवनको उपहारजस्तो बहुमूल्य उपहार अर्को के होला र ?” अझ त्यस विद्याकी देवीलाई पूजा गरिने दिन पनि परेको छ । कुलत त्याग्नेजस्तो नैतिक शिक्षा अर्को कुनै हुन्छ ? डा. अनिलको प्रश्न छ ।

कुलत त्याग्नु जीवनको अमूल्य उपहार हो । चुरोट र सुर्ती सेवन छोड्दा आफ्नो आयु मात्रै लम्बिँदैन परिवारको आयु पनि बढ्ने हुँदा ‘स्मोकर्स आर नट सेल्फिस्’ भन्ने नारालाई जोड दिइएको उनको भनाइ छ । कुलत छुटाउन प्रोत्साहन गर्ने उद्देश्यका निम्ति यस अभियानमा ‘धूम्रपान गर्ने स्वार्थी हुँदैनन्’ भन्ने टेमप्लेटलाई सकारात्मक र सुखद् परिणामको अपेक्षासहित राखिएको डा. अनिलले स्पष्ट पारे ।