झापा – झापामा केराखेतीतर्फ किसानको आकर्षण बढेको छ । केराखेतीबाट मनग्य आम्दानी हुने र धानबालीको तुलनामा खेती गर्न सजिलो हुनेहुँदा यसतर्फ किसानको आकर्षण बढेको हो । किसानले धान खेत मासेर केराखेती गरेका हुन् ।


ADVERTISEMENT


जिल्लामा एक हजार आठ सय ९० हेक्टर जमिनमा केराको व्यावसायिक खेती हुने गरेको कृषि ज्ञानकेन्द्र झापाका प्रमुख सागर विष्टले बताए । केराको फलसँग बोट र पात मलका लागि बहुउपयोगी हुने उनको भनाइ छ । उनले विगत तीन वर्षयता जिल्लामा केराको व्यावसायिक खेती बढेको बताए


ADVERTISEMENT

# # #


उनका अनुसार जिल्लाका गौरादह, भद्रपुर नगरपालिका, झापा, कचकवल, बाह्रदशी र कमल गाउँपालिकामा केराको व्यावसायिक खेती रहेको छ । यहाँ वार्षिक ३७ हजार मेट्रिकटन केरा उत्पादन हुने गरेको उनले बताए । प्रमुख विष्टले जिल्लामा गौरीगञ्ज गाउँपालिका र अर्जुनधारा नगरपालिकामा टिस्युकल्चर प्रविधिबाट केराको उन्नत जातको बिरुवा उमार्ने नर्सरी रहेको जानकारी दिए ।

“धान, मकैखेतीभन्दा केराखेतीबाट आम्दानी राम्रो हुन्छ, खेती गर्न पनि सजिलो हुन्छ”, प्रमुख विष्टले भने, “त्यही भएर किसान धान खेत मासेर केराखेतीतर्फ आकर्षित भइरहेका छन् । दश कट्ठा जमिनदेखि ५७ बिघा क्षेत्रफलमा किसानले केराको व्यावसायिक खेती गर्दै आएका छन् । अधिकांश केराखेतीमा लागेका किसान वैदेशिक रोजगारीबाट फर्केका छन् । उनीहरुले परदेशमा रोजगारी गर्न जानुभन्दा स्वदेशमै परिवारसँग बसेर व्यवसाय गर्ने सोच बोकेर युवा केराखेतीमा लागेका छन् । उनले केराखेती प्रवद्र्धनका लागि ज्ञानकेन्द्रले यसै वर्षदेखि गौरीगञ्ज गाउँपालिकामा केरा ब्लक विकास कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको बताए ।

झापा गाउँपालिकाका–३ का चन्द्रप्रसाद बस्नेतले केरा खेतीसँगै यसको थामलाई प्रशोधन गरेर कपडा, धागो, महिनावारी प्याड र फाइबर उत्पादन गर्ने तयारी गरिरहेका छन् । विगत पाँच वर्षअघि इजरायलबाट फर्केर उनले ३० बिघा जमिनमा केराको व्यावसायिक खेती गर्दै आएका छन् । पालिकामा उनले गरेको केराखेतीबाट राम्रो आम्दानी भएको देखेर अन्य युवा पनि केराखेतीमा लागेका हुन् । उनले युवालाई प्रोत्साहन गरेर यसको व्यावसायिक खेती गर्न प्रेरित गर्दै उनीहरुले उत्पादन गरेको केराको बजारीकरणमा सहजीकरण गरिदिने र प्राविधिक सहयोग गर्दै आएका छन् । हाल पालिकामा १५ बढी किसानले व्यावसायिक केराखेती गरिरहेका छन् ।