काठमाडौँ– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरि बट्टिमरबीच मंगलबार भेटवार्ता भएको छ ।


ADVERTISEMENT


नेपालको पाँच दिने औपचारिक भ्रमणमा आउनु भएका अध्यक्ष बट्टिमरले सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा भेटवार्ता गरेका हुन् । भेटमा दुई देशबीचको आपसी सम्बन्ध, संसदीय सहयोग र अभ्यासबारे छलफल भएको संघीय संसदका कार्यबाहक महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिए ।


ADVERTISEMENT

# # #


त्यसैगरी यसअघि सभामुख घिमिरेले आयरल्याण्ड भ्रमणका अवसरमा त्यहाँ उठाएका विषयहरु जस्तो नेपाल र आयरल्याण्डबीच संसदीय सहयोग, नेपाली विद्यार्थीलाई आयरल्याण्डमा छात्रवृतिको व्यवस्था र बेलायतको भिषा लिएका नेपालीलाई आयरल्याण्डको भिषा नलिएपनि त्यहाँको भ्रमण गर्न दिइनुपर्ने विषयमा सभामुखले कुरा राखेको उनले जनाए ।

त्यस्तै नेपाल र आयरल्याण्डबीच संसदीय अभ्यासहरु आदानप्रदान गर्न नेपालका सांसदहरु आयरल्याण्ड जाने र आयरल्याण्डका सांसदहरु पनि नेपाल भ्रमणमा आउनुपर्नेमा सभामुख घिमिरेले जोड दिएको कार्यबाहक महासचिव पाण्डेयले बताए । सभामुख घिमिरे र अध्यक्ष बट्टिमरबीच नेपालको शान्ति प्रक्रिया, मानव अधिकार लगायतका विषयमा पनि छलफल भएको उनले जानकारी दिए ।

भेटवार्ताका क्रममा आयरल्याण्डका माथिल्लो सदनका अध्यक्ष बट्टिमरले आफु नेपाल भ्रमणबाट फर्केपछि सभामुख घिमिरेले उठाएको विषयमा सम्बन्धित मन्त्री, पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गर्ने बताउनुभएको कार्यबाहक महासचिव पाण्डेयले बताए । अध्यक्ष बट्टिमर पाँच सदस्यीय संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सोमबार नेपाल आएको हो ।