काठमाडौं(रासस)-कीर्तिपुर नगरपालिकाले स्थानीय अमृतनगरदेखि गुम्बा क्षेत्रसम्म करिब तीन किलोमिटरको बाटो निर्माण गर्न शुरु गरेको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणको सहयोगमा त्यस क्षेत्रमा छ मिटरको नयाँ बाटो (ट्र्याक) खन्न थालिएको हो ।


ADVERTISEMENT


किनपा वडा नं १ अमृतनगर र २ मैत्रीनगर हुँदै गुम्बा क्षेत्रमा जोड्ने उक्त बाटो करिब छ महिनाभित्र ग्राभेल गरी सञ्चालन गरिनेछ । नयाँ बन्ने बाटोले त्यस क्षेत्रको बासिन्दालाई आफ्ना उत्पादन बजारीकरण गर्न सहयोग पुग्नेछ ।


ADVERTISEMENT

# # #


किनपा प्रमुख रमेश महर्जनले सो बाटो बनाउन तत्काललाई रु ४० लाख विनियोजन गरिएको र आगामी दिनमा सो कार्य पूरा गर्ने क्रममा आवश्यक रकम थप गरिने जानकारी दिएका छन् । प्राचीन महत्वका स्थानीय मठमन्दिर तथा सम्पदा संरक्षण र भौतिक पूर्वाधार विकास निर्माण गर्ने नगरपालिकाको नीति रहेको उहाँले जानकारी दिएका छन् ।

सो परियोजना पूरा भएपछि काठमाडौँ महानगरपालिका– १४ स्थित कलंकी खसीबजार क्षेत्रलाई जोड्ने योजना छ । सो मार्गलाई चन्द्रागिरि नगरपालिका क्षेत्रमा जान अर्को वैकल्पिक मार्गका रुपमा विकास गर्न सकिन्छ । चन्द्रागिरि जाने यात्रुलाई कलंकी हुँदै जानुपर्ने अवस्थाको विकल्पमा नयाँ बाटोको सञ्जालले जोडिने छ ।