काठमाडौं-३ नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले शनिबार साँझ पदभार ग्रहण गरेकी छन्। हेटौंडा-१० स्थित प्रदेश प्रमुखको कार्यालयमा उनले पदभार ग्रहण गरेकी हुन् । पदभार ग्रहणपछि आयोजित परिचयात्मक कार्यक्रममा कोइरालाले विकास र समृद्धिको पक्षमा सबैले मिलेर काम गर्नुपर्ने बताइन् । ‘संविधानको भावना र मर्मअनुसार देश विकासमा अघि बढ्न म सबैलाई अनुरोध गर्छु’, उनले भनिन् ।


ADVERTISEMENT


उनलाई मध्यमाञ्चल क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डे, मकवानपुरका प्रतिनिधिसभा र प्रदेशसभा सदस्य, क्षेत्रीय कार्यालयका प्रमुखलगायतले स्वागत गरेका थिए । क्षेत्रीय प्रशासन कार्यालयमा प्रदेश प्रमुखको कार्यालय र निवास राखिएको छ ।


ADVERTISEMENT

# # #


आज (आइतबार) बिहान ९ः४५ बजे ज्येष्ठ प्रदेशसभा सदस्य डोरमणि पौडेललाई प्रदेशसभाको अध्यक्षताका लागि प्रदेश कार्यालयमा कोइरालाले शपथग्रहण गराउने कार्यक्रम छ । त्यसपछि क्षेत्रीय शिक्षा निर्देशनालयको सभाहलमा प्रदेशसभा सदस्यलाई बिहान १० बजे प्रदेश प्रमुख कोइरालाले शपथ खुवाउने कार्यक्रम रहेको क्षेत्रीय प्रशासक पाण्डेले बताए ।

शपथग्रहणका लागि ३ नम्बर प्रदेशका एक सय १० सांसदमध्ये अधिकांश शनिबार साँझै हेटौंडा आइपुगेका छन् । प्रदेशसभाको बैठक ज्येष्ठ सदस्य डोरमणि पौडेलको सभाध्यक्षतामा बस्ने पाण्डेले बताए ।

क्षेत्रीय शिक्षा निर्देशनालयमा प्रदेशसभा सदस्यको शपथग्रहण हुने भएपछि सभाहलमा शनिबार दिनभर लगाएर कर्मचारीले सरसफाइ र कुर्सी व्यवस्थापन गरे । यसका साथै क्षेत्रीय शिक्षा निर्देशनालय भवन परिसर र बसपार्कनजिक तरकारी बजार र आसपासका सडकसमेत सफा गरिएको छ । ‘हतारमा कार्यक्रमको तयारी गर्नुपरेकाले अलि बढी दौडधूप भएको छ’, मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्र बुढाले भने, ‘शनिबार साँझसम्ममा हामीले प्रदेशसभाका लागि सबै तयारी सकाएका छौं ।’