• परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठसंग हिमालय पोष्टले गरेको बिशेष सम्बाद : –

संविधान निर्माण पश्चात यसको कार्यान्वयनका लाथि निर्वाचन पनि सम्पन्न भएको छ । राजनीति एक हिसाबले नयाँ कोर्सबाट अगाडि बढेको छ । यसलाई कसरी हेरिराख्नु भएको छ ?


ADVERTISEMENT


अब हुनु पर्ने संक्रमणकालको अन्त्य हो । नयाँ सरकारले मुलुकको स्थीरता र समृद्धिलाई प्राथमिकता दिएर देशलाई समुन्नतीको बाटोमा अगाडि बढाउने हो । जसको लागि देश भित्र पनि आर्थिक शक्तिको परिचालन आवश्यक हुन्छ भने अन्तराष्ट्रिय सहयोग जुटाउन अर्थनीति निर्माण गर्न तर्फ अगाडि बढ्नुपर्ने आवश्यकता देखिन्छ ।


ADVERTISEMENT

# # #


अब वाम गठबन्धनको सरकार बन्ने निश्चित प्राय भइसकेको छ । त्यो सरकारलाई एउटा विज्ञको हैसियतमा कसरी अगाडि बढ्ने सल्लाह दिनुहुन्छ ?

नयाँ सरकारले देशभित्र भ्रष्टाचार उन्मुलन नगरिकन विकासका लागि आएको रकम पनि सदुपयोग हुनसक्दैन । जनताले उठाएको करको पनि सदुपयोग हुनसक्दैन ।

त्यसैले दुईवटा कुरा गर्नुपर्छ ।

एउटा भ्रष्टाचारमा शून्य सहनशीलता हुनुपर्छ । चीनले किन विकास गर्यो भन्दाखेरी त्यहाँ पोलिटब्युरो सदस्यहरुलाई पनि भ्रष्टाचार विरुद्ध जेल हालिएको छ । अन्य ठूला सजाय भएका छन् । जहाँ उन्नती भएका देशहरु छन् उनीहरुले भ्रष्टाचारका विरुद्ध कठोर नीतिलाई कार्यान्वयन गरेका छन् । नेपालमा पनि नीति त कठोर छ । तर त्यसको कार्यान्वयन हुन सकेको छैन ।

दोस्रो भनेको नेताहरु र ठूला कर्मचारीहरुमा देशभक्तिको भावना भएन भने देश विकास हुन सक्दैन । विकास त्यसले मात्र गर्छ जो देशभक्त छ । विकास त्यसले मात्र गर्छ जसले भष्ट्राचारको विरोध गर्छ । नत्र भने नेपालमा समृद्धि सम्भव छैन । त्यसको लागि अब दृढताका साथ नयाँ सरकारले पाइला चाल्नुपर्छ ।

राजदुतावासको सहयोगमा छोराछोरी विदेश पढ्न पठाएर दलाली गरिदिएपछि देश विकास हुन सक्दैन । त्यसैले नेपालमा पनि भारतमा इन्दिरा गान्धीले ‘रअ’ बनाए जस्तो प्रधानमन्त्रीको अध्यक्षतामा यस्तो गोप्य समिति बनाउनुपर्छ । जहाँ आर्मीको चिफ अनुसन्धान प्रमुख होस् । शाखा अधिकृत भन्दा माथिको पदमा बढुवा गर्नका लागि ऊ देशभक्त छ कि छैन, विदेशको इशारामा चलिरहेको छ कि ! त्यो अनुसन्धान गर्नुपर्छ । नभए यसले त विदेशको हितमा काम गर्छ, स्वदेशको विकास हेर्दैन । प्रधानमन्त्रीले मन्त्रीको नाम आउने बित्तिकै सुरक्षा परिषदबाट पास गराउनुपर्छ । मन्त्री मण्डलमा अघि भनेको कुराहरुमा जाँच गर्नुपर्छ । विकास त्यसले मात्र गर्छ जो देशभक्त छ । दोस्रो विकास त्यसले मात्र गर्छ जसले भ्रष्ट्राचारको विरोध गर्छ । नत्रभने नेपालमा समृद्धि सम्भव छैन । त्यसको लागि अब दृढताका साथ नयाँ सरकारले पाइला चाल्नुपर्छ ।

कुनै पनि देशको विकासका लागि वैदेशिक सहयोग महत्वपूर्ण हुन्छ । देशलाई समुन्नतीको दिशामा अगाडि बढाउनका लागि छिमेकीसंगको सम्बन्ध कस्तो हुन आवश्यक छ ?

हो, देशको समृद्धिको लागि छिमेकी देशको पनि सहयोग हुन जरुरी छ । हाम्रा दुईवटै छिमेकी अहिले आर्थिक दृष्टिकोणले विश्वमा उदाउँदै गरेका शक्ति हुन् । १९ औ र २० औ शताब्दी पश्चिमी देशहरुको थियो । अब २१ औँ शताब्दी भनेको एसियाको शताब्दी हो । जसका प्रमुख पात्र चीन र भारत हुन् । जो हामीसंगै जोडिएका छन् । यसैले यी दुईदेशहरुको विकास जुन रफ्तारले बढिरहेको छ । त्यो विश्वको उदाउँदै गरेको ठूलो बजार पनि हो । ती ठूला बजारमा नेपालले खेल्न सक्नुपर्यो । यसलाई पारवाहन राष्ट्रको रुपमा विकास गर्ने र दुईवटै देशको लगानी पनि नेपालमा ल्याउन र दुबैतिर निकासी बढाउन सक्ने हो भने देशको निरन्तरको व्यापार घाटालाई कम गरेर समृद्धिको बाटोमा हिंडाउछ ।

निर्यातलाई बढाएर आयातलाई कम गर्ने शूत्र के हो ?

आयातलाई प्रतिस्थापन गरेर निर्यात बढाउन दुईवटा कुरामा जोड दिनुपर्छ । पहिलो, एउटा गाउँपालिकामा कम्तीमा एउटा वस्तु उत्पादन गर्नुपर्छ । अहिलेको संघीयता राजनीतिक मात्रै नभइ विकासको युनिट हो । उत्पादनको पनि युनिट हो । ताकि उताबाट भरिएको रेल आउने र हाम्रोबाट खालि पठाउने अवस्था नहोस् भनेर तरकारी, खाद्यान्न, माछा, मासु, जडीबुटी देखि लिएर औद्योगिक सामानहरु पनि नेपालले उत्पादन गर्न थाल्नुपर्छ । ताकि रेलको असन्तुलन हटाएर दुवै देशबाट रेल भरिएर जाओस् । त्यसो हुँदा पहिलो कुरा दुबैतिरको रेल कनेक्टिभिटीलाई दिने हो ।

दोस्रो कुरा, यस्तो लगानी भारत र चीनबाट माग्ने जसको उत्पादन उसको बजारमा जान सकोस् । नेपालको कच्चा पदार्थ, उनीहरुको प्रविधि र लगानी मिसाएर नेपालमा निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापन गर्न सकिन्छ । म तपाईलाई एउटा उदाहरण दिन्छु । अहिले काठमाडौँमा प्राय राँगा भैसीहरुको मासु कमै पाइन्छ । किनकी सबै तिब्बत जाने रहेछ । एक अर्ब जनताका लागि चाहिने तरकारी, जडिबुटी उत्पादन गर्न थालौँ त । अनि समृद्धि कसैले ल्याइरहनै पर्दैन । त्यस कारण चीन र भारतको अरबौं जनसंख्यालाई नेपालको उपभोक्ता बनाउन सक्नुपर्यो ।

देशमा रोजगारी नपाएर दैनिक रुपमा हजारौँको संख्यामा युवा पलायन भइराखेको छ । तिनीहरुलाई देशमा नै बसाउन अबको सरकारको योजना कस्तो हुनुपर्छ ?

नेपालले पनि विकास गर्न पहिले त कृषिमा जोड दिनुपर्यो । बाहिर गएर दुःख पाएर आएकाहरुले नयाँ किसिमले व्यवसाय सुरु गरेका छन् । भनेको के हो भने नेपालको जनसङ्ख्यालाई नेपालको विकासका लागि उपयोग गरिनु पर्यो । हामीले हुर्काएर अर्काको सेवामा पठाउने गरिरहेका छौँ । कहिले पनि रेमिटेन्सले मुलुक पूर्णरुपमा धान्न सक्दैन । त्यस कारण युवालाई देशमा नै रोक्नुपर्छ । भारतको रेमिटेन्स भित्रिने मुलुकमा नेपाल पाँचौ मुलुक पर्छ । यहाँ ईट्टाभट्टामा काम गर्नेदेखि लिएर फोहोर उठाउनेसम्म भारतीय नै छन् । विदेशबाट आएको रेमिटेन्सलाई उनीहरुमार्फत हामी भारत पठाउँदैछौँ ।

गाउँमा अहिले हेर्नुस् हलो जोत्ने मानिस भेटिँदैन । यो अवस्थालाई परिवर्तन गर्न सक्यो भने विकास सम्भव छ । नेपालीको श्रम, बुद्धि नेपालका लागि हुनुपर्छ । क्यानडामा वातावरण विज्ञ नेपाली छन् । अमेरिका लगायतका अन्य देशमा सुरुङको लागि इन्जिनियरिङ गर्ने नेपाली छन् । तिनीहरुलाई यहाँ बोलाउन सक्नुपर्छ । अर्को भनेको नेपालीले सक्ने काम नेपाललाई मात्र दिनुपर्छ । मलेसियामा मलेसियनले जानेको काम अरुलाई दिईँदैन । भूमीपुत्र भन्ने सिद्धान्त हुन्छ । स्वदेशी पूजी र स्वदेशी उत्पादनलाई बढवा दिने हो भने परतन्त्र अर्थतन्त्र होइन स्वाभिमानी अर्थतन्त्र विकास गर्न सकिन्छ । यस कारण पर्यटनदेखि लिएर हाइड्रोसम्मका क्षेत्रमा विकास गर्न सरकार लाग्नुपर्छ ।

अर्को रिसाउला भनेर उसंग सम्झौता गर्नै डराउँछन् हाम्रा नेताहरु । गरेको सम्झौता पनि हप्काएपछि परिवर्तन गर्छन् । उदाहरण बूढीगण्डकीलाई नै लिन सकिन्छ । त्यस्तो दलाल मानसिकताले देशको विकास हुन सक्दैन ।

यसको लागि पछिल्लो समय चीनले नेपालमा विभिन्न आयामहरुमा सहयोग गर्छु भन्दै आएको छ । यसको भरपुर सदुपयोग कसरी गर्न सकिन्छ ?

यसमा चीनको ‘बेल्ट एन्ड रोड’मा एउटा शक्तिले नेपालको समर्थन रोक्न खाज्यो । दक्षिण एसियाका अन्य देशलाई पनि रोक्न खाज्यो तर भुटानबाहेक सबैले समर्थन गरे । नेपालले पनि त्यसमा सहमती जनाएको छ । अब त्यसको कार्यान्वयनका लागि चिनियाँ रेल नेपालमा भरसक ल्याउन नदिने षड्यन्त्रमा लागेको छ । त्यसका लागि दलाल नेता र कर्मचारीको प्रयोग गरिँदैछ । त्यसैले देशभक्ति चाहिन्छ ।

नेपालमा यस्ता दलालहरु छन् जसले विकासका फाइल नै गायव गरिदिन्छन् । त्यस्ता दलाललाई आउट गर्नुपर्छ ।

देशभक्त र भ्रष्टाचार नगर्नेलाई पूरा सहयोग गर्नुपर्छ । विदेशको लागि नेपालको सम्बन्धलाई बिगार्ने ‘माइक्रो म्यानेजमेन्ट’का कूपात्रलाई पहिचान गरेर बाहिर नफ्याँकेसम्म देशको विकास हुन सक्दैन ।

चीनको जुन किसिमको हैसियत छ त्यो अनुसार सहयोग आइरहेको छैन नि किन होला ?

यसका लागि त आएका योजनालाई समयभित्र सम्पन्न गर्नका लागि सुशासन चाहिन्छ । एउटा कुरा के हो भने समुद्रमा पानी लिन जाँदा भाँडो अनुसार पानी आउँछ । लोटा लिनुभयो भने लोटाभरि आउँछ । गाग्री लिनुभयो भने गाग्रीभरि आउँछ । तर हाम्रोमा लोटा मात्रै लिएर जाने चलन छ । त्यसलाई अन्त्य गर्नुपर्छ । चीनले अफ्रिका अमेरिकामा गएर त्यत्रो लगानी गरेको छ । छिमेकमा त मागे अनुसारको दिनसक्छ नि ! तर अर्को रिसाउला भनेर उसंग सम्झौता गर्नै डराउँछन् हाम्रा नेताहरु । गरेको सम्झौता पनि हप्काएपछि परिवर्तन गर्छन् । उदाहरण बूढीगण्डकीलाई नै लिन सकिन्छ । त्यस्तो दलाल मानसिकताले देशको विकास हुन सक्दैन । एउटा कुरा के हो भने हामीले समुद्रमा पानी लिन जाँदा भाँडो कत्रो लिने भन्नेमा भर पर्छ ।

भारतले गुजरातको विकास पनि चीनकै सहयोगले गरेको हो । भारतमा अहिले चीनको बजार धेरै छ । यस्तै विकास निर्माणमा पनि चीनले नै सहयोग गरिरहेको छ । आफू लिने अनि नेपाललाई छेक्ने ? नेपालको विकासका लागि भारतलाई पनि सम्झाउन सक्नु पर्यो । दास मानसिकता भयो भने देशको विकास हुनसक्दैन ।

चीनको सहयोगलाई के कसरी सदुपयोग गर्नुपर्छ त ?

यसमा उदाहणको लागि भनौँ सन् २०२० सम्ममा केरुङमा रेल आउने त पक्का भइसक्यो । अब त्यहाँबाट काठमाडौँ पोखरा लुम्बिनी लानका लागि आवश्यक प्रक्रिया गर्नुपर्यो । अर्को बिषय पूर्व–पश्चिम रेल जोड्न पनि आवश्यक छ । विश्वमा अहिले सबैभन्दा राम्रो कनेक्टीभिटी चीन नै भएको छ । भारतले गुजरातको विकास पनि चीनकै सहयोगले गरेको हो । भारतमा अहिले चीनको बजार धेरै छ । यस्तै विकास निर्माणमा पनि चीनले नै सहयोग गरिरहेको छ । आफू लिने अनि नेपाललाई छेक्ने ?

आर्थिक रुपमा सम्पन्न भयो भने छिमेकीले हेप्न सक्दैन । त्यसैले नेपालको परिराष्ट्र नीतिमा दुई पक्षीय, क्षेत्रीय वा अन्तराष्ट्रिय नभनिकन त्रिपक्षीय पनि गर्नुपर्छ । ‘ग्लोबल टुरिज्म’को विकास गर्नुपर्यो । त्यसो भएमा अर्कोको मुठ्ठीभित्रको झिँगा भएर बस्नु पर्दैन । अर्को भनेको कृषि हो । नेपाल यस्तो देश हो जहाँ सबै किसिमको हावापानी पाइन्छ । बेसिजनमा पनि कृषीजन्य वस्तु उत्पादन गरेर विश्वमा निर्यात गर्न सकिन्छ । अर्को जल विद्युत् हो । पहिले आफुलाई पुगाएर त्यसपछि छिमेकीलाई बेच्नुपर्छ ।

सबैभन्दा ठूलो कुरा भनेको पर्यटन हो । चीनका १० प्रतिशत पर्यटकलाई मात्र भएपनि नेपालमा ल्याउन सक्ने हो भने यहाँ मालामाल हुन्छ । नेपालको विकासका लागि भारतलाई पनि सम्झाउन सक्नु पर्यो । दास मानसिकता भयो भने देशको विकास हुनसक्दैन ।

तपाईले विकासका जुन किसिमका दृश्यहरु देखाउनु भयो । त्यसका लागि अहिलेका राजनीतिक नेतृत्वहरु कत्तिको सक्षम देख्नुहुन्छ ?

यिनीहरुलाई यो अन्तिम मौका हो । जनताले कुर्चीमा बस्न मात्र बहुमत दिएका हैनन् । अहिले सुध्रिएनन्, अहिले इमान्दार भएर विकास गरेनन् भने, कुर्सीका लागि उचालिए भने उनीहरुको लागि यो अन्तिम मौका हुनेछ । त्यसपछि जनताले पनि थुक्नेछन् । अहिले जितेकाहरु अर्को चुनावमा उसैगरी हार्नेछन् । त्यस कारण यो यिनीहरुका लागि अन्तिम परीक्षा हो । अनि तीन वटा कुरामा प्रतिपक्षलाई पनि विश्वासमा लिनुपर्छ । एउटा राष्ट्रको सुरक्षा नीति, दोस्रो नेपालको परराष्ट्र नीति, अर्को भनेको राष्ट्रिय विकासको नीति, समृद्धिको नीति । कमसेकम यी तीनवटा कुरामा मिलेर काम गर्नुपर्छ । विकासको कुरालाई झगडाको नभई साझा विषय बनाउनु पर्छ ।

अन्त्यमा, देशको अबको मुहार कस्तो देख्नुहुन्छ ?

खासमा म आशावादी नै मान्छे हुँ । हामी अहिले चौबाटोमा छौँ । बिगार्नसक्ने शक्तिहरु छन् र बिग्रन सक्ने बानी भएका नेताहरु पनि छन् । व्यक्तिगत वा पारिवारिक स्वार्थलाई बढी हेर्ने पनि छन् । समानुपातिकको दुरुपयोग गरेको सबै दलले देखियो । आफ्नो नाताकुटुम्बलाई लिने काम पनि भइरहेको छ । यस्ता कुरालाई सुधार गरेर पहिलो प्राथमिकता देशलाई दिनुपर्छ । देश बनेमा हामी बन्छौँ भन्ने भावना राख्नुपर्छ । त्यसैले देशभक्ति, भष्टाचारको विरोध र सामूहिक काम गरेमा देश बन्छ । वाम गठबन्धनभित्र १० जनाजति छन् प्रधानमन्त्री हुनसक्ने । प्रधानमन्त्री भइसकेका र हुनेगरी । तर बन्ने त एक जना मात्रै हो नि । त्यस कारण ती दशवटै जनाको काम एक जनाले गर्न सक्नुपर्छ । अनि देश त बनिहाल्छ नि ।