काठमाडौं-रोनाल्डो बिना खेलेको डिफेन्डिङ च्याम्पियन रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा विजयी भएको छ । बिहिबार राति भएको खेलमा लेगानेसलाई १–० ले पराजित गर्दै रियल मड्रिडले जित निकालेको हो ।


ADVERTISEMENT


पछिल्लो समय खराब लयबाट गुज्रिरहेको रियल मड्रिडले गए राति कोपा डेल रे फुटबल क्वाटरफाईनल पहिलो लेगको खेलमा लेगानेजलाई उसैको घरेलु मैदानमा हराएको हो । मड्रिडलाई जित दिलाउन मार्को एसेन्सियोले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको अन्तिम मिनेटमा गोल गर्दै रियल मड्रिडले लेगानेसमाथि समग्रमा १ – ० को अग्रता बनाएको हो ।


ADVERTISEMENT

# # #


पहिलो रोजाइका क्रिस्टियानो रोनाल्डो, ग्यारेथ बेल, मार्सेलो र करिम बेन्जिमाबिना मैदान उत्रिएको रियल मड्रिडले जितका लागि भने संघर्ष गर्नु परेको थियो । यता, बल पोजिसनमा पकड बनाएको रियल मड्रिडविरुद्ध घरेलु टोली लेगानेस अन्तिम समयमा सम्हालिन नसक्दा पराजित हुन् पुग्यो । खेलको ८९ औं मिनेटमा एसेन्सियोले गोल गर्दै रियल मड्रिडलाई जित दिलाए ।

जितपछि रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले यो जित जारी सिजनको लागि टर्निङ प्वाईन्ट हुने बताए । रियालको खराब समय सकिएको जिकीर उनको छ ।

यो जितपछि रियल मड्रिडले कोपा डेल रे को सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । दोस्रो लेग रियल मड्रिडको घरेलु मैदानमा जनवरी २४ मा हुनेछ । दोस्रो लेगमा रियललाई बराबरी गरे पुग्ने छ भने लेगानेसलाई जित आवश्यक छ ।