विराटनगर— नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा मोरङका घनश्याम खतिवडा निर्वाचित भएका छन् ।
खतिवडाले अध्यक्षका अर्का प्रत्यासी विनोद ढकाललाई पराजित गरेका हुन्। सोमबार राति अबेर सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार खतिवडा र ढकालबीचकोे मतान्तर ८२ छ । विजयी भएका खतिवडाले ५१२ मत प्राप्त गरे । ढकालले ४३० मत प्राप्त गरे ।
प्रदेश कमिटीको उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भभइसकेका छन् । सचिवमा पाँचथरका राजकुमार भण्डारी निर्वाचित भएका छन् । ५२४ मत ल्याएर विजयी भण्डारी विजयी हुँदा अर्का उम्मेदवार उदयपुरका शैलेश लामाले ३८१ मत प्राप्त गरे । भण्डारी खतिवडा प्यानलबाट उम्मेदवार भएका थिए ।
उपसचिवमा झापाकी जलवर्षा राजवंशी ६२८ मत र खोटाङका देवान राई ६१० मत ल्याएर निर्वाचित भएका छन् । दुवैजना नै खतिवडा प्यानलका हुन् । उपसचिवका अर्का उम्मेदवार मोरङका खेम नेपालीले ३९८ मत ल्याएका छन् । आइतबार राति भएको निर्वाचनमा ९७७ मत खसेको थियो ।