काठमाडौँ– नेपाली क्रिकेट टोलीले पुनः एकपटक विश्व क्रिकेटको शक्तिराष्ट्र भारतसँग खेल्ने भएको छ । नेपालले १९औँ दक्षिण एशियाली खेलकुद अन्तर्गत क्रिकेको प्रतिस्पर्धामा मंगलबार क्वार्टरफाइन्लमा भारतको सामना गर्ने भएको हो ।
समूह ‘ए’को विजेताका रुपमा क्वार्टरफाइनल पुगेको नेपालको प्रतिस्पर्धी सोमबार भएको ‘ड्र’मार्फत भारत छानिएको हो । नेपालले टि–२० क्रिकेटमा पहिलो पटक भारतसित खेल्न लागेको हो । चीनको होङ्जाउस्थित झेजियांग युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा हुने खेल मंगलबार नेपाली समयअनुसार बिहान ६ः४५ बजेदेखि सुरु हुँदैछ ।
भारतले प्रतियोगिताको पहिलो खेल खेल्दैछ भने नेपालले चीनमा भोलि तेस्रो खेल खेल्नेछ । प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले समूह चरणमा मंगोलिया र माल्दिभ्सलाई हराउँदै क्वार्टर फाइनलमा स्थान बनाएको हो । यता भारत भने विश्व क्रिकेटको वरियताका आधारमा साेझै क्वार्टरफाइनलबाट प्रतियोगिताको यात्रा सुरु गर्न लागेको हो ।
पदक जित्ने लक्ष्य राखेको नेपालले भारतलाई हराउँदै सेमिफाइनलको यात्रा तय गर्ने लक्ष्य राखेको छ । भारतसँग पराजित भएमा भने नेपालको पदक जित्ने सपना समाप्त हुनेछ ।
अघिल्लो महिना मात्रै नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक एशिया कपमा भारतसँग खेलेको थियो । एकदिवसीय एशिया कपमा श्रीलङ्कामा नेपालले भारतससँग खेलेको थियो । उक्त खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो ।