काठमाडाैँ – अमेरिकाको वाशिंगटन डि.सी. स्थित मेट्रो एरियामा सेप्टेम्बर २९ देखि अक्टुबर १ सम्म आयोजना हुन लागेको बिश्व साँस्कृतिक उत्सव २०२३ मा १८० राष्ट्रहरुबाट प्रतिनिधित्व गर्दै आफ्नो मौलिक संस्कृतिहरु सम्बन्धी प्रस्तुति गर्ने भएको छ ।
संसारभरका विभिन्न संस्कृतिहरुलाई एकै ठाउंमा ल्याई एकै सुत्रमा बाँध्ने जमर्को आर्ट अफ लिभिङ्गका संस्थापक तथा आध्यातमिक गुरु रविशंकरले गरेका हुन् । हालसम्म पांच लाख भन्दा बढी सहभागीहरुले कार्यक्रममा सरिक भै संसार भर छरिएका सांस्कृतिक विविधताको महत्व माथि एक्यबद्धता जनाएका छन् ।
उक्त कार्यक्रममा विभिन्न राष्ट्रहरुले आफ्नो देशको भेषभुषा, नृत्य, संगीत तथा परिकारहरुको प्रस्तुति यी तीन दिनमा गर्ने छन् । विश्वभरका १८० राष्ट्रहरुबाट १७ हजार कलाकारहरु सम्मिलित भई ६१ वटा नृत्यहरु प्रस्तुत हुँदैछन ।
नेपालले पनि उक्त संस्कृतिक उत्सवमा सहभागिता हुँदैछ र नेपालको विभिन्न समुदायको सात मौलिक नृत्यहरु सोही समुदायको सांस्कृतिक पहिरण पहिरी प्रस्तुती गर्न १३ वर्ष देखि ६० वर्ष सम्मका १५० जना कलाकारहरु पुगिसकेका छन् ।
यी नृत्यहरुको निर्देशन नृत्य प्रशिक्षक यज्ञ मान शाक्यले गरेका छन् । उनले विगत पाँच महिना देखि नृत्य टोलीलाई प्रशिक्षण दिंदै आएका थिए ।
नेपालको ‘बिश्व सांस्कृतिक उत्सव २०२३’ मा सहभागिताले नेपाललाई विश्वमा चिनाउन सहयोगी हुने कुरा दया फाउन्डेसनका संस्थापक सदस्य राजेश बहादुर प्रधानले बताए ।
अमेरिकामा बसोबास गरिरहेका गैर आवासीय नेपालीहरू माझ नेपाली संस्कृतिलाई जोगाउने हेतुले काम गर्दै आएको नेपाल एजुकेशन कल्चरल सेन्टरको नेतृत्व गरिरहेका अध्यक्ष सरोज प्रजापतिको प्रमुख संयोजकत्व तथा समन्वयमा अमेरिकामा बसोबास गरिरहेका गैर आवासीय नेपालीहरू यस कार्यक्रममा सहभागीता जनाउँदै छन् ।
यस वर्ष हुन लागेको ’बिश्व संस्कृतिक उत्सव २०२३ ’ चौथो संस्करण हो । सन् २००६ मा बैंगलोरमा आयोजना भएको पहिलो संस्करण मा पच्चीस लाख सहभागी थिए, त्यसैगरी दोश्रो संस्करण जुन बर्लिनमा सन्न२०११ मा सम्पन्न भएको थियो त्यसमा सत्तरी हजार सहभागी थिए भने तेस्रो सन्सस्करण सन् २०१६ मा दिल्लीमा आयोजित भएको थियो जसमा सैतिस लाख सहभागी थिए ।