काठमाडौँ – नेपाल जुत्ता चप्पल उत्पादक संघले आयोजना गरेको ‘जुत्ता चप्पल दशैं महोत्सव २०८०’ सुरु भएको छ ।
स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले ललितपुरको जावलाखेलमा आयोजना गरिएको महोत्सवको बुधबार ललितपुर महानगरपालिकाकी उपप्रमुख मन्दिरा शाक्यले उद्घाटन गरेकी हुन् ।
असोज १० गतेबाट कार्तिक ४ गतेसम्म चल्ने महोत्सवमा नयाँ ब्रान्ड तथा डिजाइनका ३ हजार बढी मोडलका जुत्ता चप्पल रहेको बताईएको छ । ग्राहकहरुले कम्पनीका बिभिन्न जुत्ता चप्पलहरु सुपथ मुल्यमा खरिद गर्न सक्ने आयोजकले जानकारी दिएको छ ।
उद्घाटन समारोहमा बोल्दै उपप्रमुख शाक्यले नेपाली जुत्ता चप्पललाइ प्रवर्द्धन गर्नु पर्नेमा जोड दिएकी छन् । उनले रास्ट्रिय उत्पादनलाई प्रवर्द्धन गर्न महानगरको साथ रहेको बताउँदै स्वदेशमा उत्पादन नबढाएसम्म देशको विकास नहुने बताईन् ।
‘बाहिरको सामान आयात गरेर पैसा बाहिर पठाएसम्म देश आत्मनिर्भर हुँदैन,’ उनले भनिन्, ‘यसलाई बुझेर स्वदेशी उत्पादनलाई प्रवर्द्धन र विकास गर्नुपर्छ ।’ उनले राष्ट्रिय उत्पादनलाई सबैले उपभोग गर्नसमेत आगह गरिन् ।
उद्घाटन समारोहमा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका नेपाल जुत्ता चप्पल उत्पादक संघका केन्द्रीय अध्यक्ष नानिराज घिमिरेले साना ठूला तथा मझौला गरि १५ सय जुत्ता चप्पलको क्षेत्र रहेको बताएका छन् ।
घिमिरेका अनुसार जुत्ता चप्पलको श्रेत्रमा करिब १६ करोडको जुत्ता चप्पल उत्पादन गर्न सक्ने क्षमता रहेको छ । उनले बाहिरबाट आउने जुत्ता चप्पलको आयात रोकेर स्वदेशी उत्पादनलाइ प्रवर्द्धन गर्नु पर्नेमा जोड दिए ।
‘राज्यले यो क्षेत्र प्राथमिकतामा राख्यो भने अशिक्षितलाई पनि जुत्ता चप्पल सम्बन्धि तालिम दिएर रोजगारीको सिर्जना गर्न सकिन्छ’, घिमिरेले भने ।
स्वदेशी उत्पादनहरुलाई प्रवर्द्धन गर्ने गरी गरिएको मेलाले देशको समृद्धिका लागि सहयोगीसिद्ध हुने आयोजकको विश्वास छ ।