काठमाडौँ – प्रतिनिधिसभा बैठकले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख, प्रतिनिधिसभा सदस्य तथा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।


ADVERTISEMENT


बिहीबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । शोक प्रस्ताव प्रस्तुत गर्दै सभामुख घिमिरेले नेम्वाङको निधनले मुलुकलाई क्षति पुगेको बताए । बैठकले नेम्वाङको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै एक मिनेट मौनधारण समेत गरिएको छ ।


ADVERTISEMENT

# # #


७१ वर्षीय नेम्वाङको भदौ २६ गते हृदयाघातका कारण काठमाडौँमा निधन भएको थियो । उनको आजै राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

नेम्वाङ नेकपा (एमाले) पार्टीको तर्फबाट २०४८ साल र २०५२ सालमा राष्ट्रियसभा सदस्य, २०५६ सालमा प्रतिनिधिसभा सदस्य, २०६३ सालमा पुनःस्थापित प्रतिनिधिसभा सदस्य र व्यवस्थापिका संसद् सदस्य, २०७२ मा रुपान्तरित व्यवस्थापिका संसद् सदस्य, २०७४ र २०७९ मा प्रतिनिधिसभा सदस्य थिए ।

उनी विसं २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाको सभामुख, २०६३ सालमै व्यवस्थापिका संसद्को सभामुख तथा २०६५ साल र २०७० सालको संविधान सभाको अध्यक्ष थिए । यसैगरी, २०५६ मा प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखासमिति सभापति भएका स्वर्गीय नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्था र सामान्य प्रशासन मन्त्रीसमेत हुनुभएको थियो । संविधानसभामार्फत् नेपालको संविधान निर्माणमा उनको अग्रणी भूमिका रहेको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक भाद्र २९ गते शुक्रबार १ बजे बोलाइएको छ ।